वीरगञ्ज (पर्सा) – बारा र पर्सामा विनाशकारी हावाहुरी तथा असिनापानीबाट आवासविहीन बनेका पीडित परिवारले पाँच महिनामै सरकारनिर्मित आवास पाएका छन् । प्राकृतिक प्रकोपबाट पीडितले यति छोटो अवधिमा सरकारनिर्मित आवास पाएको यो पहिलो अवसर हो । गएको चैत १७ मा त्यहाँ विनाशकारी हावाहुरी चलेको थियो ।


ADVERTISEMENT


नेपाली सेनाले निर्माण गरेका आवास बुधबार केन्द्र सरकारलाई हस्तान्तरण गरेपछि केन्द्र सरकारले प्रदेश सरकार र प्रदेश सरकारले स्थानीय तहमार्फत पीडित परिवारलाई हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । नेपाली सेनाको जनता आवास निर्माण कार्यदले बुधबार घर हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


गत चैत १७ गते आएको विनाशकारी हावाहुरीका कारण बारा र पर्सा जिल्लामा २९ जनाको ज्यान गएको थियो भने एक हजार दुई सयभन्दा बढी घाइते भएका थिए । हावाहुरीले ठूलो धनजनको क्षति पुर्याएपछि चैत २१ गतेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हावाहुरी पीडितका लागि सरकारले नै घर निर्माण गरिदिने र सोको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

सो निर्णयपछि बारा र पर्सामा नेपाली सेनाले वैशाख २१ गते घर निर्माण कार्यको थालनी गरेको थियो । नेपाली सेनाले बारा र पर्सामा १२ समूह बनाएर सैनिक र गैरसैनिक गरी छ हजारभन्दा बढी जनशक्ति घर निर्माणमा लगाएको थियो ।

लागत प्रतिघर झन्डै पाँच लाख

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले हावाहुरी पीडितले घरको लागत प्रतिघर चार लाख ८५ हजार रुपियाँ रहेको प्रतिवेदन पेस गरेको छ । सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४५ हजार ९८५ रुपियाँ ८८ पैसाका दरले रकम उपलब्ध गराएको थियो । कटिन्जेन्सी र निर्माण सामग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गर्न सफल भएको छ । सेनाको जनता आवास कार्यदलले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा छन् ।

घर अस्तान्तरण कार्यमा बोल्दै रक्षामन्त्री ईश्वर पोखरेलले स्थानीय, प्रदेश र सङ्घीय सरकारको आपसी समन्वय र नेपाली सेनाको कार्यदक्षताका कारण बारा र पर्साका हावाहुरी पीडितले घर पाएको बताए । उनले नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले तोकिएको समयभित्रै घर निर्माण गरी हस्तान्तरण गरेकोमा सेनालाई धन्यवाद दिए ।

यस्तै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रशासनिक कमीकमजोरीका कारण बारामा केही पीडित घर निर्माणबाट वञ्चित हुनुपरेको प्रसङ्ग उठाए । उनले प्रधानमन्त्री ओलीको विशेष पहलमा नेपाली सेनाले छोटो अवधिमा जनआकाङ्क्षाअनुरूप घर निर्माण सम्पन्न गरेको भन्दै नेपाली सेनालाई धन्यवाद दिए ।

यस्तै प्रधानसेनापति पूर्णचन्द्र थापाले गएको विनाशकारी हावाहुरीले पुर्याएको क्षति र स्थानीयले कठिन परिस्थितिको सामना गरिरहेको अवस्थाबाट मुक्ति दिन सरकारको निर्देशनअनुरूप सेनाले घर निर्माण कार्य सम्पन्न गरेको बताए । उनले बाराका ८०७ र पर्साका ६२ गरी ८६९ घरको प्रमाणपत्र तथा नक्साको कागज रक्षामन्त्री पोखरेललाई हस्तान्तरण गरे मन्त्री पोखरेलले प्रदेश २ का मुख्यमन्त्री राउतलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।