काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले बेलायत सरकारको डिर्पाटमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डीएफआईडी)का स्थायी सचिवसंग भेट वार्ता गरेका छन् । बिहीबार मन्त्रालयमा खतिवडाले डीएफआईडीका स्थायी सचिव म्याथ्यु जोन राइक्रफ्टसँग शिष्ट्राचार भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


भेटका क्रममा मन्त्री खतिवडाले वित्तीय संघीयता कार्यान्वयन शीघ्र र प्रभावकारी ढंगले अघि बढेरहेको र संस्थागत व्यवस्था अन्य अधिकार र कर्तव्यको बाँडफाँड पनि सुमधुर ढंगले भइरहेको बताए । उनले स्थानीय तहमा खासगरी न्यायिक पद्धतिमा क्षमता विकासको अभावलाई सुधार गर्न सरकारको जोड भएको बताए । उनले क्षमता विकासको सन्दर्भमा प्रदेश तथा स्थानीय तह नयाँ सन्दर्भ र सिकाईकै चरणमा भएकाले सुशासन र न्यायिक पद्धति सम्बन्धमा थप क्षमता विकास गर्न आवश्यक भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


मुलुक संघीय संरचनामा गएपछिको सकारात्मक परिणामका रुपमा राज्यका साधन स्रोतको प्रदेश र स्थानीय तहमा समान वितरण र र आर्थिक बृद्धि पनि समान प्रकारले भएको मन्त्री खतिवडाले बताए । संघीयता कार्यान्वयन गर्न निर्माण भएका कानून तथा नीतिको प्रभावकारी रुपमा व्यवहारिक कार्यान्वयन गर्न सीमित स्रोत र साधनका बीच केही चुनौतिहरु देखा पर्न सक्ने उनको भनाई छ ।

भेटमा डीएफआईडीका स्थायी सचिव राइक्रफ्टले नेपाल एकात्मक शासन प्रणालीबाट संघीय प्रणालीमा जानु महत्वपूर्ण राजनीतिक परिवर्तन विश्वका लागि उदाहरणीय भएको बताए । उनले नेपाल सरकारले संविधान निर्माणसँगै संघीय संरचानमा सबै तहको निर्वाचन गरी विवादरहित रुपमा संघीयताको अभ्यास हुनु आफैमा सुखद भएको भन्दै विश्वले संघीयता कार्यान्वयनका लागि यहाँबाट सिक्नु पर्ने धारणा राखे ।

नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न चाहेको भन्दै संघीयता कार्यान्वयनका लागि तयार भएका कानून तथा नीतिहरुको प्रभावकारी रुपमा व्यवहारिक कार्यान्वयनका चरणमा देखा पर्न सक्ने समस्याहरुलाई बेलायत सरकार सघाउन तयार रहेको रुपष्ट पारे । उनले नेपाल र बेलायत सरकारबीच दोहोरो कर मुक्ति सम्झौता गर्ने प्रक्रियालाई समेत अगाडि बढाउने विषयमा जानकारी गराए ।

भेटमा नेपालस्थित बेलायत राजदूत रिचर्ड मोरिस, डिएफआईडिका प्रतिनिधिलगायतको सहभागिता थियो ।