काठमाडौँ – यू-१९ एशिया कपको लागि श्रीलंकामा रहेको नेपाली यू-१९ क्रिकेट टिमले पूर्व प्रशिक्षक रोय डायससंग भेट गरेको छ । प्रतियोगिताको सुरुवात गर्नुअघि नेपाली टिमले बिहीबार डायससंग भेट गरेको हो । नेपालले पहिलो खेल आयोजक देश श्रीलंकासंग शुक्रबार खेल्दैछ ।


ADVERTISEMENT


भेटमा डायसले नेपाली युवा खेलाडीलाई ब्याटिङ टिप्स समेत दिएको नेपाली राष्ट्रिय क्रिकेट टिमका व्यवस्थापक रमन शिवाकोटीले जनाएका छन् ।


ADVERTISEMENT

# # #


को हुन् डायस ?

सन् २००१ (वि.सं २०५८ साल) मा तीन महिनाका लागि नेपाल आएका डायसले विसं २०६७ सम्म अर्थात् ९ वर्ष  भन्दा बढी नेपाली टिमको प्रशिक्षक भएर काम गरेका थिए । त्यसक्रममा उनले नेपाललाई क्रिकेट खेल्न मात्रै सिकाएनन् थुप्रै सफलता पनि चखाएका थिए ।

जसमध्ये डायसकै प्रशिक्षकत्वमा नेपालले २००६ को यू-१९ विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्डजस्ता उत्कृष्ट टेष्ट राष्ट्रलाई हराएर जितेको प्लेट च्याम्पियनसिप प्रमुख हो । उनको नेतृत्वमा २३ प्रतियोगिता खेलेको नेपालले ११ उपाधि जितेको थियो । यस्तै चार प्रतियोगिताको फाइनल खेल्दा सातमा अन्तिम चारको यात्रा गरेको थियो । सन् २०१० मा घरेलू भूमिमै नेपालले डिभिजन ५ जित्दा डायस नै प्रमुख प्रशिक्षक थिए ।

डायस २०६७ साल (सन् २०१० को अन्तिम) मा नेपालको प्रशिक्षकबाट बिदा लिएका थिए । हाल यु-१९ टिमका प्रशिक्षकसमेत रहेका विनोद दास, राष्ट्रिय टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर लगायतका खेलाडी डायसकै प्रशिक्षकत्वमा हुर्किएका हुन् । नेपाली क्रिकेटमा उनको योगदान र इतिहासलाई हेरेर क्रिकेट विश्लेषकहरु उनलाई नेपाली क्रिकेटका ‘गड फादर’ भनेर विश्लेषण गर्छन् ।

डायसपछि संयोगवस नेपालले फेरि एक पटक श्रीलंकाली प्रशिक्षक पुवुदु दासानायकेलाई मुख्य प्रशिक्षकका रुपमा पायो । जसले डिभिजन पाँचमा रहेको नेपाली टिमलाई डिभिजन वानमा मात्र पुर्याएनन्, पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा समेत सामेल गराए ।

तस्बिर : रमन शिवाकोटी