म्याग्दी– जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ । मानिसलाई चिल्यो भने ज्यानैसमेत जान सक्ने विषालु अरङ्गिलको गोला काटेर त्यसमा रहेका लार्भालाई तेलमा मसला हालेर भुटेर स्वादिलो परिकार बनाउन थालेपछि म्याग्दीका होटलमा यसको माग ह्वात्तै बढेको छ ।


ADVERTISEMENT


म्याग्दीको बेनी नगरपालिकामा सञ्चालित होटलमा अरिङ्गालको परिकारको माग बढेको छ । जङ्गलमा पाइने अरिङ्गालको माग बढेसँगै व्यापार पनि बढेको व्यवसायी बताउँछन् । गत वर्ष अरिङ्गालको ‘फ्राई’ बिक्री गरेर रु चार लाख आम्दानी गरेकी बेनी नगरपालिकाका सिर्जना भट्टचन अहिले पनि अरिङ्गालको परिकार बनाउन व्यस्त देखिन्छन् ।


ADVERTISEMENT

# # #


मौसम शुरु भएसँगै उनको होटलमा अरिङ्गालको परिकारका पारखी आउन शुरु गरेका छन् । तीन दशकदेखि होटल व्यवसाय गर्दै आएकी भट्टचनले अरिङ्गालको परिकार बिक्री गर्न थालेदेखि आम्दानी पनि बढेको छ । उनले अरिङ्गालको गोलो खरीद गरी परिकार बनाएर बिक्री गर्दै आएका छन् ।

अहिले यो परिकार प्रतिप्लेट रु ६०० मा बिक्री हुने गरेको छ । अरिङ्गालको परिकार निकै स्वादिलो हुने भएकाले पनि ग्राहक खोजीखोजी खान आउने गरेका छन् । त्यसैले दैनिक १० देखि १५ प्लेटसम्म बिक्री हुने गरेको छ ।

अरिङ्गाल पोलेर बिक्री गर्न थालिएसँगै गाउँका केही युवाको पनि आम्दानी बढेको छ, तर युवाले भिरमहजस्तै अरिङ्गाल पोल्न सरकारले लाइसेन्स दिनुपर्ने बताउँछन् । सामुदायिक तथा वन जङ्गलमा बिना अनुमति अरिङ्गाल पोल्ने कामका बारेमा कानूनमा प्रष्ट नहुँदा स्थानीय सरकारको पनि चासो पुगेको छैन । रासस