काठमाडौँ – शान्ति सेनामा सहभागी हुने नेपाली सेनाको भत्ता वृद्धि गरिएको छ । सैनिक ऐन, २०६३ बमोजिम गठित सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले भत्ता बढाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


शान्ति सेनामा सहभागी हुने सकलदर्जाले मिशनमा खट्टिएको अवधिमा प्राप्त गर्ने दैनिक भत्तामा ८५ अमेरिकी डलर बढाइएको हो । तल्लो दर्जा बन्दोवस्ती कार्य सिपाहीले हाल प्रति महिना प्राप्त १ हजार २९ अमेरिकी डलर प्राप्त गरिरहेका छन् । अब त्यसमा ८५ अमेरिकी डलर थप गरी १ हजार १ सय १४ अमेरिकी डलर पुर्‍याइएको नेपाली सेनाले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै गण कमाण्ड गर्ने गणपति प्रमुख सेनानीको समेत भत्ता बढाइएको छ । गणपति प्रमुख सेनानीलाई प्रतिमहिना २१ अमेरिकी डलर थप गरिएको हो । हाल गणपति प्रमुख सेनानीले प्रति महिना १ हजार ३ सय ७८ अमेरिकी डलर बुझ्दै आएका छन् । अब उनीहरुले प्रति महिना १ हजार ३ सय ९९ अमेरिकी डलर पाउनेछन् ।

अन्य मुलुकहरुको प्रचलित अभ्यास एवं सैनिक ऐन, २०६३ र सैनिक कल्याणकारी कोष नियमावली २०६५ को परिधिभित्र रही भत्तादर पुनरावलोकन गर्ने सम्बन्धमा अध्ययन कार्यदल गठन गरि सकलदर्जाबाट प्राप्त राय सुझावका आधारमा भत्ता वेद्धि गरिएको नेपाली सेनाले जनाएको छ ।

हाल वृद्धि गरिएको भत्तादरको कारणले सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब रु.४६ करोड ३० लाख व्ययभार पर्नेछ । तर, तल्लो तहका सकलदर्जालाई लक्षित गरी थप लाभान्वित गराउने उद्देश्यले भत्तादर वृद्धि गरिएको सेनाको भनाई छ । यसरी वृद्धि गरिएको भत्तादर १ अक्टोबर २०१९ बाट लागू हुने सेनाले जनाएको छ ।