मार्तडी – जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन ।


ADVERTISEMENT


बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भए पनि बिक्री हुन नसकेको हो । दशैँ तिहार आउनअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल बिक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताए । ‘कम मात्रामा चामल बिक्री हुन थालेपछि दशैँ र तिहारका लागि संस्थानको गोदाममा चामल प्रशस्त रुपमा रहेको छ । यो वर्षको चाडपर्वमा चामलको कुनै अभाव हुने छैन’ उनले भने ।


ADVERTISEMENT

# # #


बजारका पसलहरुमा सहजै चामल पाउन थालेपछि संस्थानको चामल कम मात्रामा बिक्री हुन थालेको प्रमुख ओझाको दाबी छ । खाद्य संस्थान बाजुराले प्रतिकिलोग्राम मोटो चामल रु ४५, सोना मनसुली रु ४८ र जिरा मसिना चामल रु ६२ का दरले बिक्री गर्दै आएको छ । ‘बजारको मूल्यभन्दा पाँचभन्दा कम मूल्यमा बिक्री गर्दा पनि चामल लिने उपभोक्ताहरु खासै आउने गरेका छैनन्’, प्रमुख ओझाले भने ।

उनकाअनुसार, विगतमा दैनिक १५० जनाले चामल किन्न संस्थानमा आउने गर्दथे तर यो वर्ष दैनिक ४० जना पनि मुस्किलले चामल किन्न संस्थानमा आउने गरेका छन् । संस्थानका चामल खरिद गर्ने उपभोक्ताहरु ह्वात्तै घटेकोप्रति उनले चिन्ता व्यक्त गरे । ‘यसरी चामल किन्ने उपभोक्ताहरु घट्दै जाने हो भने गोदाममै चामल कुहिन सक्ने अवस्था आउन सक्छ’, शाखा प्रमुख ओझाको भनाइ छ ।

दशैँमा खाद्य अभाव नहुने

गोदाममा चामल यथावत रहेकाले दशैं र तिहारमा खाद्यवस्तुको अभाव नहुने प्रमुख ओझाले जानकारी दिए ।

सदरमुकाम मार्तडीस्थित संस्थानको गोदाममा दुई हजार ४८२ क्विन्टल र कोल्टीको गोदाममा दुई हजार ६९७ क्विन्टल गरी कूल ५ हजार १७९ क्विन्टल चामल रहेको प्रमुख ओझाले जानकारी दिए ।

मार्तडीस्थित संस्थानको गोदाममा जिरा मसिनो दुई हजार ७०, मोटो एक हजार ७०० र सोना मनसुली ७८१ क्विन्टल चामल रहेका छन् । तीमध्ये साउन महीनामा मात्र २०० क्विन्टल चामल बिक्री भएको छ । अघिल्लो वर्ष साउन भदौमा एक हजार १०० क्विन्टलभन्दा बढी चामल बिक्री भएको संस्थानले जनाएको छ ।

बिक्री केन्द्रमा चामल छैन

जिल्ला खाद्य संस्थान बाजुराले हिमाली गाउँपालिकाका स्थानीय तहलाई लक्षित गरी कवाडीमा सञ्चालन गरिएको बिक्री केन्द्रमा चामलको अभाव रहेको छ । केन्द्रमा चामलको अभाव भएपछि उपभोक्ताहरु रित्तो हात घर फर्कन बाध्य भएका छन् । दशैँ तिहारका लागि जोहो गर्न केन्द्रमा आउने स्थानीय उपभोक्ताहरुले चामल नपाएपछि बजारबाट चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो स्थानीयवासीको छ ।

सो बिक्री केन्द्रबाट हिमाली गाउँपालिकाका बिच्छ्या, रुगिन र छिमेकी जिल्ला हुम्लाका स्थानीयवासीलाई चामल बिक्री हुँदै आएको छ । चामल ढुवानीका लागि ठेक्का प्रक्रिया सम्झौता भईसकेकाले दशैं अगावै चामल पुर्‍याउने गरी पहल भइरहेको प्रमुख ओझाले बताए । रासस