काठमाडौँ – सिंगापुर र ओमानमा हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ । बिहीबार टिमका मुख्य प्रशिक्षक उमेश पटुवाल, कप्तान पारस खड्का र व्यवस्थापक रमन शिवाकोटीले १५ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


नेपाली टिमको उपकप्तान दीपेन्द्र सिंह ऐरी बनेका छन् । व्यक्तिगत कारण देखाउँदै साबिक उपकप्तान ज्ञानेन्द्र मल्लले सिरिज नखेल्ने बताएपछि उनको ठाउँमा दिपेन्द्रलाई ल्याइएको हो । टिममा अधिकांश युवा खेलाडी रहेका छन् । कुशल मल्ल र इशान पाण्डेले पहिलो पटक टिममा स्थान बनाएका छन् । यस्तै सन्दीप जोरा, आरिफ शेख र शुसन भारीले पुनरागमन गरेका छन् ।


ADVERTISEMENT

# # #


टिमबाट अनुभवी शरद भेषवाकर, वसन्त रेग्मी, प्रदीप ऐरी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन् ।

सिंगापुरमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिज खेल्नेछ। असोज १० देखि सुरु हुने सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्।

त्यसलगत्तै नेपालले ओमान भ्रमण गर्नेछ। असोज १७ गतेदेखि सुरु हुने उक्त सिरिजमा आयोजक ओमानसहित नेपाल, आयरल्याण्ड, नेदरल्याण्ड र हङकङ रहेका छन् ।

नेपाली टिम

पारस खड्का (कप्तान
दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
सोमपाल कामी
करण केसी
विनोद भण्डारी
ललित नारायण राजवंशी
पवन सर्राफ
सन्दीप जोरा
सन्दीप लामिछाने
अभिनास बोहरा
कुशल मल्ल
रोहित कुमार पौडेल
आरिफ शेख
शुसन भारी
इशान पाण्डे