काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले राज्यको साधन स्रोत उपयोग नगरिए खेर जाने बताउँदै आन्तरिक स्रोतमा आधारित उद्योगहरु खोल्न व्यवसायीहरुलाई सल्लाह दिएका छन् । उद्योग वाणिज्य संघ काठमाडौंको साधारणसभामा बोल्दै उनले विदेशबाट कच्चा पदार्थ ल्याउने भए पनि बढि मूल्य अभिवृद्धि हुने खालका ल्याउन सल्लाह दिँदै राज्यको स्रोतलाई संवृद्धिसँग जोडन सक्नुपर्ने बताए ।


ADVERTISEMENT


नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमै कही गर्छु भनेर उद्योग गर्नेहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताएकी छन् । उनले भारतमा कर्पोरेट ट्याक्स कटौतीका साथै बैंक ब्याजदरमा कमी गरेर लगानी आकर्षित गरिएको भन्दै नेपालमा पनि सरकारले लगानीकर्तालाई प्रात्साहन गर्ने नीति अघि सार्नुपर्ने बताइन् ।


ADVERTISEMENT

# # #


महासंघका विशिष्ठ सदस्य चण्डिराज ढकालले हरेक सरकारी निकायका फरक फरक नियम र निर्देशिकाले व्यवसायीलाई काम गर्न कठिनाई भएको बताए । रोजगारमूलक र निर्यातमूलक उद्योगहरुलाई प्रोत्साहन गर्न अर्थमन्त्रीलाई आग्रह गरे ।

नेपाल उद्योग बाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले देशमा सानो वर्ग मात्रै संवृद्ध रहेकाले ठूलो वर्गलाई संवृद्ध बनाउन आर्थिक नीति नियम निर्माणमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने बताए ।

नयाँ स्थापना भएको नेपाल उद्योग वाणिज्य संघ काठमाडौंमा धेरै उद्योगी व्यवसायी समेटिएका छन् । साधारणसभाले दिनेश श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा हेमराज ढकाल, जयप्रकाश शिवाकोटी, राजेन्द्र शेरचन, महासचिवमा रमणा श्रेष्ठ, सचिवमा लोकनाथ गैरे, कोषाध्यक्षमा सुष्मा महरा, सहकोषाध्यक्षमा दुर्गाराज श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहश्रमा नानीराज घिमिरे, अमूलकाजी तुलाधर, प्रदीपमान प्रधान, सतिश श्रेष्ठ, गोविन्दप्रसाद शर्मा, दीपक भण्डारी, महेन्द्रकुमार गोयल, राजेन्द्र संग्रौला, भरतराज घिमिरे, खेमबहादुर स्वार निर्वाचित भएका छन्।