काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षमा पूर्वसचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले विज्ञप्ती जारी गर्दै २०१९–२१ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा राष्ट्रिय महाधिवेशन आगामी अक्टूबर १५–१७ मा काठमाडौंमा हुँदैछ ।


ADVERTISEMENT


एनआरएन अभियानमा विश्वका ८० भन्दा बढी मुलुकबाट ६० लाखभन्दा बढी नेपाली सहभागी छन् । श्रेष्ठले उम्मेदवारी घोषणासँगै आफ्ना केही एजेन्डा अगाडि सारेका छन् । ‘गैरआवासीय नेपाली अभियान सुरु भएको १६ वर्षमा हाम्रा माग पूरा गरेर सरकारले विकास साझेदार बन्ने बाटो खोलेको छ,’ विज्ञप्तीमा लेखिएको छ, ‘गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकतालाई नयाँ संविधानले समेटेको छ । तर, ऐनमार्फत पूरा गर्नुपर्ने कामका लागि निरन्तर दबाब दिन आवश्यक छ ।’


ADVERTISEMENT

# # #


गैरआवासीय नेपालीहरुको सामूहिक अभियानले नेपालमा लगानी भित्र्याएको उल्लेख गर्दै उनले सामाजिक क्षेत्रमा पनि यस अभियानले ठूलो योगदान पु¥याएको उल्लेख गरेका छन् । ‘संयुक्त लगानीमा सञ्चालन भइरहेका परियोजनालाई अझ अगाडि बढाउनुपर्ने दायित्व छ,’ उनको भनाइ छ, ‘सँगसँगै नेपाल सरकारले परिकल्पना गरेको समृद्ध नेपालः सुखी नेपालीमा योगदान पु¥याउने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नुपर्ने दायित्व छ ।’

समृद्ध नेपाल नभएसम्म विदेशमा बस्ने कोही पनि नेपालीको व्यक्तिगत समृद्धिले अर्थ नराख्ने बताउँदै उनले मुलुकको समृद्धिका लागि लगानी भित्र्याउने कार्यमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । ‘विदेशमा सिकेका सीप र प्रविधिलाई नेपालको विकासका लागि प्रयोग गर्ने वातावरण तयार गर्नेछु,’ विज्ञप्तीमा भनिएको छ ।

वैदेशिक रोजगारीमा समस्यामा परेका नेपालीको उद्दार र राहतका लागि विशेष पहल गर्ने, गैरआवासीय नेपालीलाई एनआरएनएमा एकत्रित गर्दै साँच्चिकै बलियो संस्थाकोरुपमा स्थापित गर्न सक्रिय रहने र नेपालमा व्यक्तिगतरुपमा भइरहेका परोपकारी कार्यलाई थप प्रोत्साहन गर्ने र संस्थागत परोपकारी कामलाई प्राथमिकतामा राख्ने उनले योजना सुनाए ।

श्रेष्ठले एनआरएनए स्पोर्टर्स एकेडेमी स्थापना र सञ्चालनका लागि सम्पूर्ण समयसहित योगदान गर्ने प्रतिबद्धता पनि जनाएका छन् । पर्वतमा जन्मिएका ४६ वर्षीय श्रेष्ठ सन् २००५ देखि बेल्जियम बस्दै आएका छन् । दुई कार्यकाल एनआरएनए आईसीसी सदस्य, एक कार्यकाल यूरोप क्षेत्रीय संयोजक र एक कार्यकाल सचिव भएका छन् ।

श्रेष्ठको होटल, रेस्टुरेन्ट, रेमिट्यान्स, औषधि उद्योग, फार्मेसी, आयात-निर्यात, ट्रेडिङ, हार्डवेयर, बैंकिङलगायतका क्षेत्रमा लगानी छ ।