हेटौँडा – प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारसँग अलमल गरेर बस्ने समय नभएको बताएका छन् ।


ADVERTISEMENT


प्रदेश सरकारको आर्थिक अनुदानमा मकवानपुरका विभिन्न स्थानमा निर्माण गरिएका प्रहरी भवनको आज अनुमगन गर्दै उनले कतिपय ठाउँमा ठेकेदारका कारण काम अवरुद्ध हुने गरेको बताए । मन्त्री जम्मकट्टेलले तोकिएको समयमा कुनै पनि हालतमा काम सम्पन्न गर्न निर्माणमा संलग्न ठेकेदार तथा कर्मचारीलाई निर्देशन दिए ।


ADVERTISEMENT

# # #


“टहरामा बसेर नागरिकको सेवामा तैनाथ सुरक्षाकर्मीको दुःख देखेर भवन निर्माणको निर्णय गरिएको हो”, उनले भने ।

समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीको रकम रोक्का गर्ने तथा आगामी योजनामा उनीहरुलाई सहभागी नगराइने बताए । मन्त्री जम्मकट्टेलले बकैया गाउँपालिका, हेटौँडा–१५ र हेटौँडा–११ मा निर्माणाधीन प्रहरी चौकी तथा भीमफेदी कारागार परिसरमा निर्माणाधीन महिला बन्दी गृहको अनुगमन गरे। सो अवसरमा उनले काम गराई सन्तोषजनक नभएको भन्दै प्रदेश सरकारको गतिअनुसार काम गर्न निर्देशन दिए । “प्रदेश सरकारको उद्देश्यअनुसार काम सम्पन्न गर्नुस्”, उनले भने ।

अनुगमनका क्रममा आन्तरिक मामिला मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रदेश सरकार छिटोभन्दा छिटो काम सम्पन्न गर्न लागिपरेको बताए । सो अवसरमा प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेत, प्रजिअ प्रेमराज जोशी र प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भवन निर्माणपछि सुरक्षाकर्मीलाई कार्यसम्पादन गर्न सहज हुने धारणा राखे । प्रदेश सरकारले प्रदेशभर ४८ प्रहरी चौकी भवन निर्माण गरिरहेको छ ।