काठमाडौं – त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा सहभागिता हुन नेपाली क्रिकेट टिम सिंगापुर प्रस्थान गरेको छ । सिंगापुर क्रिकेट संघको आयोजनामा हुने सिरिजका लागि नेपाली टिम आज राति सिल्क एयरबाट सिंगापुर प्रस्थान गरेको हो ।


ADVERTISEMENT


यसअघि नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश शिलवालले विदाई गरेका थिए । शुक्रबारदेखि सुरु हुने त्रिकोणात्मक सिरिजमा आयोजक सिंगापुरसँगै नेपाल र टेष्ट राष्ट्र जिम्बाब्वे रहेको छ ।


ADVERTISEMENT

# # #


सिरिजको पहिलो खेलमा शुक्रबार नेपालले जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ । डबल राउण्ड रोविनको आधारमा सञ्चालन सिरिजमा नेपालले आफ्नो दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्नेछ भने तेस्रो खेलमा जिम्बाब्वेसँग अक्टोबर १ मा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अक्टोबर २ मा सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यो सिरिज सकेर नेपाल त्यतैबाट ओमान प्रस्थान गर्नेछ । ओमानमा नेपालले अन्य चार राष्ट्रसँग टी–२० सिरिज खेल्नेछ । ओमान क्रिकेट संघको आयोजनामा हुने सिरिजमा आयोजकसँगै नेपाल, नेदरल्यान्ड्स, हङकङ र टेष्ट राष्ट्र आयरल्यान्ड रहेका छन् । अक्टोबर ५ तारिखदेखि सुरु हुने यो सिरिजमा नेपालले आफ्नो पहिलो खेल हङकङसँग ६ तारिखमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, सात तारिखमा नेदरल्यान्ड्ससँग खेल्ने नेपालले तेस्रो खेल ९ तारिखमा आयरल्यान्डसँग र चौथो खेल ओमानसँग १० तारिखमा प्रतिस्पर्धा गर्नेछ ।

यी दुवै सिरिजका लागि नेपाली टिम यसअघि नै घोषणा भइसकेका छन् । कप्तान पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा अधिकांश युवा खेलाडी रहेका छन् । शरद भेषवाकर, बसन्त रेग्मी र प्रदीप ऐरी टिमबाट बाहिरिँदा कुसल मल्ल र इशान पाण्डेले टिममा पहिलोपटक स्थान बनाएका छन् भने सुशान भारी, आरिफ शेख र सन्दीप जोराले पुनगरागमन गरेका छन् ।

ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण देखाउँदै सिरिज नखेल्ने बताएपछि दीपेन्द्र सिंह ऐरीलाई पहिलो पटक उपकप्तानको जिम्मेवारी दिइएको छ ।

टिम नेपाल

पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाष बोहरा, ललितनारायण राजवंशी, सुशान भारी र इशान पाण्डे ।