सरोज सिटौला : महासचिव, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ


ADVERTISEMENT


दशैँ नजिक आइसकेको छ । यो बला यात्रुको चाप अत्याधिक हुनेगर्छ । सार्वजनिक यातायात कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


चाँडपर्व, त्यो पनि दशैँ । सबै खुसियाली मनाउन घर जाने गर्छन् । यो बेलामा भीडभाड नै हुन्छ । घटस्थापनादेखि फूलपातीसम्म नियन्त्रण गर्नै नसकिने गरी यात्रुको चाप हुन्छ । हामीले यो वर्षको दशैँको लागि ६ गतेदेखि अग्रिम बुकिङ खुला गरेका छौँ । हजारौँ मान्छेहरुले हर्षउल्लासका साथ अग्रिम टिकट काटिसकेका छन् । पहिलो दिन अत्याधिक चाप भएपनि अब यो विस्तारै कम भइसकेको छ । मैँले बारबार सञ्चारकर्मीहरुमार्फत भन्ने गरेको छु, हामीसंग अहिले भएका सवारी साधानबाटै यसको व्यवस्थापन गर्ने हो ।

दशैँको मुखैमा मनसुन पनि सक्रिय भएको छ । वर्षाले गर्दा सडक बिग्रिने सम्भावना रहन्छ । यसमा ध्यान कत्तिको छ ?

हामीले विशेष ध्यान दिएको कुरा नै यही हो । वर्षात भयो भने सडक बिग्रने भएकाले यसले केही चिन्तित बनाएको छ । तर, प्रकृतीसंग कसैले जित्न सक्दैन । त्यसकारण यो बेला वर्षात नहोस् भन्ने कामना गर्न मात्रै सकिन्छ । यसअघि भएको वर्षातले बिग्रिएका सडकको मर्मतका लागि हामीले मन्त्री, सचिव, सडक विभाग सबैलाई भेटेर देशभरका सडकका खाल्डा पुर्ने काम गर्नुहोस् भनेका छौँ । त्यो भयो भने यातायात सरल तरिकाले हुनुका साथै दुर्घटनामा पनि कमी आउँछ ।

यो बेला यात्रुहरु तोकिएकोभन्दा बढी शुल्क तिरेर ठगिने गर्छन् । उनीहरुको सामानको सुरक्षा पनि गर्नुपर्छ । त्यसका लागि के सोच्नुभएको छ ?

हाम्रो प्रमुख जिम्मेवारी भनेको यात्रुलाई सुरक्षित रुपमा उनीहरुको गन्तव्यमा पुर्याउनु हो । कोही पनि नठगियोस्, कसैले पनि असुरक्षित नगरोस् भनेर हामीले विभिन्न ठाउँमा यात्रु सहायता कक्ष खोलेका छौँ । पहिचानका लागि अनिवार्य रुपमा कर्मचारीलाई परिचयपत्र र ड्रेसको व्यवस्था गरेका छौँ । यात्रु आफै बिचौलियासंग मिलेर पैसा बढी तिर्नुहुन्छ र मैँले तिरेँ भनेर सामाजिक सञ्जालमा राख्नुहुन्छ भने त्यसको जिम्मा हामीले लिन सक्दैनौँ । तर, काउन्टरमा खटिएका, तोकिएको पोशाक र परिचयपत्र बोकेका कर्मचारीले तोकिएको भन्दा बढी भाडा लिन्छ भने कारबाही हुन्छ । त्यसकारण तोकिएको भन्दा बढी भाडा नतिर्न र नतिराउन म आग्रह गर्न चाहन्छु ।

यो बेला विदेश वा राजधानीबाट घर फर्किँदा सामान लिएर फर्किने भएकाले उनीहरुको सामानको सुरक्षा सरकारी पक्षबाट गरिनुपर्छ । जथाभावी गाडी नरोक्ने पनि हामीले जानकारी गराएका छौँ ।
हामीले गृह मन्त्रालय, प्रहरी कार्यालयलाई पनि भनेका छौँ, यो बेला सवारी यात्रुको चाप अत्याधिक हुने र सवारी साधानको संख्यामा सीमितता हुने भएकाले एउटा गाडी पुग्नेबित्तिकै फर्किनुपर्छ । त्यसकारण राजमार्गमा यात्रुबाहक सार्वजकि सवारी साधानलाई प्राथमिकता दिनुपर्यो । उनीहरुलाई अनावश्यक चेकिङ गरेर दुःख दिनुभएन । त्यसो भयो भने गाडी समयमै पुग्छन् ।

अग्रिम टिकट काटिसकेका यात्रुहरु टिकटमा गाडीको नम्बर नै लेखिएको छैन, सिट दोहोरिने हो कि भन्ने अन्योलमा पनि देखिन्छन् । किन यस्तो भएको हो ?

यो भ्रममात्रै हो । कुन गाडी कतिबेला आइपुग्छ भन्ने अन्योल हुने भएकोले गाडीको नम्बर अहिले दिइँदैन । तर, क्रमअनुसार टिकट काटिएको हुनाले त्यसमा कुनै किसिमको तलमाथि हुँदैन । हामी अनलाईन प्रणालीमा गइ नसकेकाले भिडभाडमा काम गर्दा गल्ती हुन्छ, सिट दोहोरिन सक्छ, त्यसलाई मिलाउनका लागि भनेर प्रत्येक बसमा चारवटा सिट जाने दिनसम्म अनिवार्य खाली राख्न निर्देशन दिएका छौँ । यसले गर्दा सिट दोहोरिएर यात्रुले दुःख पाउँदैनन् ।

यो बेलामा यात्रुस्वयम्ले के कुरामा ध्यान दिन जरुरी छ ?

दुई तीनवटा कुरा म के भन्न चाहन्छु भने भिडभाडमा गल्ती हुनसक्छ । यात्रुले टिकट काटिसकेपछि एक पटक टिकट अनिवार्य हेरिदिन अनुरोध गर्दछु । आफू जानुपर्ने मिति लेखेको छ कि छैन ? आफू जानुपर्ने स्थान लेखेको छ कि छैन ? सिट नम्बर छ कि छैन ? यी तीनवटा कुरा हेर्नुभयो भने सच्याउन मदत पुग्छ र तपाईं घर पुग्नुसक्नुहुन्छ । । तर, टिकट काट्ने बित्तिकै नहेर्ने र पछि आएर यस्तो भयो भन्यो भने समस्या हुन्छ । त्यसकारण यदी कतै अन्योल भयो भने १४ वटा स्थानमा नागरिक सहायता कक्ष राखिएको छ । त्यहाँ गएर देखायो भने पनि तपाईले सहयोग पाउनुहुन्छ ।

भनेपछि यो पटक आज जनताले दशैँमा सहज किसिमले घर पुग्ने वातावरण बन्छ ?

त्यो जिम्मा हाम्रो हो । त्यसका लागि हामी अहोरात्र खटेका छौँ । पानी वर्षा कसैले रोक्न सक्दैन । १० गतेसम्म नेपालभरि रहेका खाल्डाखुल्डीलाई पुरेर गाडी सहज आवतजावतको वातावरण हामी गराउँछौँ भन्ने कुरा हामीलाई माननीय मन्त्री रघुवीर महासेठले हामीलाई विश्वस्त पार्नु भएको छ । त्यो कार्यान्वयनमा अति आउँछ, त्यो हेर्न बाँकी छ । खाल्डाखुल्डी, ट्राफिक जामका कारणले गाडी समयमा आइपुगेन भने त्यसको जिम्मेवारी हामी लिन सक्दैनौँ । त्यसकारण सबैले आफ्नो भूमिका खेल्न जरुरी छ ।

अन्त्यमा, राजमार्गमा खाना र त्यसको मूल्यमाथि प्रश्न उठ्ने गरेको छ । कतिपयले यातायात व्यवसायी र होटेल व्यवसायी मिलेका हुन्छन् भन्ने आरोप लगाउँछन् । यसमा के भन्नुहुन्छ ?

यो बिल्कुल गलत हो । यस्तो आपराधिक क्रियाकलाप कहीँ कतै हुँदैन । कुनै यातायात व्यवसायीले कुनै होटेल व्यवसायीसंग बिल्कुल पैसा लिएको हुँदैन । जहाँसम्म मूल्यको कुरा छ, त्यो हामीले नियन्त्रण गर्नसक्ने कुरा होइन । म होटेल व्यवसायी साथीहरुलाई आग्रह गर्न चाहन्छु कि हाम्रो गाडीबाट आएका यात्रु तपाईहरुका लक्ष्मी हुन् । यो पर्वमा आएका पाहुनालाई तपाईहरुले राम्रो खाना खुवाउनुहोस् । अन्त्यमा यो राष्ट्रिय पर्वको म सबैमा एकमुस्ट शुभकामना दिन चाहन्छु ।