काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता इन्द्रबहादुर बानियाँले पार्टीलाई थप प्रभावकारी बनाउन केन्द्रीय समितिको आकार बढाइएको बताएका छन् ।

काठमाडौंमा जारी पार्टीको १५औं महाधिवेशनबाट आगामी केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाइएपछि सञ्चारकर्मीले यसको आवश्यकताबारे बानियाँलाई सोधेका थिए ।

‘मुलुकसँगै पार्टी पनि असहज अवस्थामा छ । पार्टीलाई पूर्ण रुपमा एकताबद्ध बनाउन थुप्रै प्रयास भएका छन् । तिनै प्रयासमध्ये यो पनि एउटा प्रयास हो । यसले पार्टीलाई थप प्रभावकारी बनाउनेछ,’ उनले सञ्चारकर्मीसँग भने, ‘कांग्रेस राष्ट्रिय शक्ति हो । यो देशको हरेक भूगोलमा, यो देशमा बसोबास गर्ने हरेक समुदायका बीचमा कांग्रेस बलियो गरी पुग्नुपर्नेछ । त्यसैले सबैको प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसले यो व्यवस्था गरेको हो ।’

पदाधिकारीमा निर्वाचन लड्ने बलियो अवस्था हुँदा हुँदै बानियाँले भने खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले महाधिवेशनपछि निर्वाचित कार्यसमिति मात्र नभई कांग्रेस पार्टीका सम्पूर्ण सदस्य, यसका शुभचिन्तकले एकपटक सिंगो देशलाई कांग्रेसमय बनाउने विश्वास पनि व्यक्त गरे ।