– नैनसिंह महर, महामन्त्री उम्मेदवार, नेपाली कांग्रेस
आज नेपाली कांग्रेसको १५ औं महाधिवेशनको महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेँ ।
उम्मेदवारी दर्ताको कागजमा नाम लेख्ने त्यो क्षण छोटो थियो, तर मनभित्र धेरै वर्ष एकैपटक फर्किए। डडेल्धुराका उकाली ओराली सम्झिएँ। महाकालीको किनार सम्झिएँ। विद्यार्थी जीवनका ती दिन सम्झिएँ, जब राजनीति भविष्यको कुनै पदसँग जोडिएको थिएन। समाज बदल्न सकिन्छ भन्ने विश्वाससँग जोडिएको थियो। समयसँगै बाटा फेरिए, जिम्मेवारी थपिए, मानिसहरू भेटिए, अनुभवहरू गहिरिँदै गए। ती सबै परिवर्तनका बीच मनको एउटा विश्वास आजसम्म उस्तै छ। राजनीति मानिसको जीवनसँग जोडिएको जिम्मेवारी हो।
आज यहाँसम्म आइपुग्दा धेरै अनुहार सम्झनामा आए। इतिहासका ठूला पानामा नाम नआए पनि कांग्रेसलाई आफ्नो जीवनको अंश बनाएका मानिसहरू सम्झिएँ। जेल, निर्वासन, अभाव र संघर्ष भोगेका अग्रज सम्झिएँ। गाउँका चौतारामा बैठक गर्ने, चुनाव नहुँदा पनि झन्डा जोगाएर राख्ने, अवसर नपाउँदा पनि पार्टीबाट नटाढिने कार्यकर्ता सम्झिएँ। नेपाली कांग्रेसको इतिहास यिनै असंख्य मानिसको श्रम, विश्वास र निष्ठाले बनेको हो।
त्यही इतिहासको छेउमा आज अर्को पुस्ता उभिएको छ। संसारसँग जोडिएको, प्रश्न गर्ने, प्रमाण खोज्ने, छिटो निर्णय गर्ने पुस्ता। उसलाई विगतप्रति सम्मान छ, भविष्यप्रति गहिरो चासो छ। उसले देशभित्र अवसर खोजिरहेको छ। उसले राजनीतिबाट उत्तर खोजिरहेको छ। उसलाई सुन्ने धैर्य र उसको क्षमतालाई ठाउँ दिने संस्कार आजको कांग्रेसले निर्माण गर्नुपर्छ।
अग्रजको अनुभव र नयाँ पुस्ताको आकांक्षाबीच संवाद आवश्यक छ। एउटा पुस्ताको सम्मान जोगाउँदै अर्को पुस्ताको बाटो खोल्न सकियो भने कांग्रेसको इतिहास र भविष्य एउटै धारमा जोडिन सक्छ। यही सम्बन्ध बलियो हुँदा संगठन जीवन्त हुन्छ, राजनीति पनि समयसँगै अघि बढ्छ।
कांग्रेसले फेरि सुन्ने बानी गहिरो बनाउनुपर्छ।
किसानको कुरा सुन्दा उसको उत्पादनको पीडा बुझ्नुपर्छ। विदेशिन लागेको युवासँग कुरा गर्दा उसले देश छोड्नुअघि गरेका प्रयास बुझ्नुपर्छ। उद्यमीको अप्ठ्यारो, श्रमिकको पसिना, महिलाको संघर्ष, सुदूर गाउँको नागरिकको प्रतीक्षा, मध्यमवर्गीय परिवारको असुरक्षा र नयाँ पुस्ताको बेचैनीलाई राजनीतिले आफ्नै विषय ठान्नुपर्छ। जनजीवनबाट टाढिएको राजनीति विस्तारै आफ्नो अर्थ गुमाउँछ।
पछिल्ला वर्षहरूले हामीलाई गम्भीर पाठ दिएका छन्। जनताको विश्वास स्थायी सम्पत्ति हुँदैन। एकपटक प्राप्त गरेको समर्थन सधैँ साथ रहँदैन। कांग्रेसबाट टाढिएको प्रत्येक नागरिकको मनमा कुनै कारण छ। कतै निराशा छ, कतै नसुनिएको अनुभूति छ, कतै नयाँ सम्भावनाको खोजी छ। त्यसलाई बुझ्न आत्मसमीक्षा चाहिन्छ। विश्वास फेरि कमाउन सकिन्छ, तर त्यसका लागि व्यवहार, संगठन, निर्णय र परिणाममा परिवर्तन देखिनुपर्छ।
कांग्रेसले गुमाएको जनविश्वास फर्काउने र नयाँ पुस्ताको थप भरोसा जोड्ने यात्रा सजिलो छैन। यही कठिन यात्राले हाम्रो राजनीतिक इमानदारीको परीक्षा लिन्छ। हामीले समाजलाई फेरि विश्वास दिलाउनुपर्छ कि कांग्रेस सुन्छ, सिक्छ, सच्याउँछ र समयसँगै बदलिन्छ।
पार्टीभित्र पनि अहिले दूरी छन्। मतभेद छन्। मन दुखेका छन्। फरक फरक राजनीतिक निष्कर्ष छन्। यी सबैका बीच कांग्रेसको साझा इतिहास अझै ठूलो छ। असहमति हुँदाहुँदै पनि एउटै घरभित्र संवाद कायम रहन सक्नु लोकतान्त्रिक संस्कारको आधार हो। प्रतिस्पर्धापछि सम्बन्ध जोगिनुपर्छ। फरक मत राख्ने कांग्रेसजनले पनि यो आफ्नै घर हो भन्ने अनुभूति गर्न पाउनुपर्छ। एकताको अर्थ मेरो बुझाइमा यही हो।
देशले पनि कांग्रेसबाट ठूलो जिम्मेवारीको अपेक्षा गरेको छ। सरकारमा हुँदा उत्तरदायी, प्रतिपक्षमा हुँदा सशक्त, राष्ट्रिय संकटमा व्यापक दृष्टि राख्ने, लोकतन्त्र र संविधानको पक्षमा स्पष्ट उभिने, राष्ट्रिय एकताको प्रश्नमा संयम र दृढता देखाउने कांग्रेस आज पनि आवश्यक छ। जनताको दुःख, असन्तोष र आकांक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने राजनीतिक संगठनले नै दीर्घकालीन विश्वास जोगाउन सक्छ।
आज उम्मेदवारी दर्ता गरेपछि आफ्नै यात्रालाई फर्केर हेर्दा एउटा अनुभूति गहिरो भयो। राजनीतिमा अन्ततः मानिसले आफूले पाएको पदभन्दा आफूले जोगाएको मूल्य, जोडेको विश्वास र छोडेर गएको संस्थागत संस्कारबाट अर्थ पाउँछ।
हामीले अग्रजबाट संघर्षले बनाएको कांग्रेस पाएका छौँ। बलिदानले जोगाएको कांग्रेस पाएका छौँ। लोकतान्त्रिक यात्राले परिपक्व बनाएको कांग्रेस पाएका छौँ।
अब हाम्रो पुस्तामाथि एउटा जिम्मेवारी छ। आउने पुस्तालाई अझ व्यवस्थित, अझ समावेशी, अझ अध्ययनशील, अझ संवेदनशील र नागरिकको जीवनसँग अझ नजिकको कांग्रेस सुम्पिन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न हाम्रो समयको परीक्षा हो।
डडेल्धुराबाट सुरु भएको यात्रामा महाकालीले धेरै कुरा सिकाएको छ। नदी बाटोमा चट्टान भेट्छ। मोडिन्छ। कतै साँघुरिन्छ। कतै फैलिन्छ। आफ्नै बहावसँग संवाद गर्दै अघि बढिरहन्छ। राजनीतिमा पनि समयसँगै बाटा बदलिन सक्छन्, तर सार्वजनिक जीवनको मूल उद्देश्य हराउनु हुँदैन।
आजको उम्मेदवारीलाई मैले त्यही यात्राको अर्को अध्यायका रूपमा लिएको छु। कांग्रेसलाई जोड्ने, समयसँग संवाद गराउने, अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई नजिक ल्याउने, नागरिकको आवाज सुन्ने र लोकतान्त्रिक आन्दोलनमा कांग्रेसको ऐतिहासिक जिम्मेवारीलाई नयाँ अर्थ दिने यात्राको अर्को चरणका रूपमा।
आज मनमा एउटा प्रश्न गहिरो भएर बसेको छ।
हामीले पाएको कांग्रेसभन्दा अझ राम्रो कांग्रेस आउने पुस्तालाई दिन सक्छौँ कि सक्दैनौँ?
कांग्रेस रूपान्तरणको यो ऐतिहासिक घडीमा मेरो भरोसा यहाँहरूको स्वविवेक, न्यायबोध र पार्टीको भविष्यप्रतिको जिम्मेवारीमा छ। महाधिवेशनले व्यक्ति छनोटसँगै कांग्रेसको आगामी दिशा पनि तय गर्नेछ। मेरा विचार, अनुभव, प्रतिबद्धता र कार्ययोजनालाई गम्भीरतापूर्वक मूल्यांकन गरिदिनुहोला भन्ने अपेक्षा राखेको छु।
कांग्रेसको एकता, नयाँ पुस्ताको भरोसा, अग्रजको सम्मान, नागरिकको आवाज र लोकतान्त्रिक मूल्यप्रतिको निष्ठालाई केन्द्रमा राखेर आफ्नो सम्पूर्ण क्षमता र अनुभव समर्पित गर्ने संकल्पसहित आज यो यात्राको अर्को अध्याय सुरु गरेको छु।

















