काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रता माथि कुनै खतरा नरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको २३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानको मर्मविपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैँ राजीनामा दिएर आन्दोलनमा उत्रने बताए ।


ADVERTISEMENT


उनले अहिलेको पत्रकारिता देखेर कहिलेकाहीँ आफूलाई राजीनामा दिएर बस्न झोक चल्ने गरेको टिप्पणी गर्दै उहाँले आफूलाई मिडियासँग बोल्न नै मन लाग्न छाडेको भनाइ राखे । मन्त्री बाँस्कोटाले भने, “एउटा कुराभन्दा, पूर्वदृष्टि राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति मिडियामा हाबी भएको छ, म पनि वर्षांैसम्म पत्रकारिता गरेकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ ।”


ADVERTISEMENT

# # #


सरकारले ‘समृद्ध नेपाल, गरिब पत्रकारिता’को अवधारणा नलिएको बताउँदै मन्त्री बाँस्कोटाले भने, “अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्छ, अब कमिसन पत्रकारिता धेरै चल्दैन, पत्रकारिता व्यावसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्नसक्ने वातावरण बन्नुपर्छ ।”

मन्त्री बाँस्कोटाले पत्रकारको हकहितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने बताउँदै आफू मन्त्री भएपछि पाँच करोड ३४ लाख रुपैयाँको पत्रकारिता कल्याण कोष स्थापना गरेको र अब त्यसलाई बढाएर १० करोड रुपैयाँ पु¥याउने उद्देश्य लिएको बताए । शङ्काको भरमा पत्रकारिता गर्नु गलत भएको भन्दै गल्ती गर्नेलाई पनि छाड्न नहुने उनको तर्क थियो । सरकारसँग भएका असन्तुष्टिलाई पत्रकारितामा नजोडौँ भन्दै उहाँले मिडियाले गहिराइमा पुगेर लेखेमात्र तथ्य बाहिर आउने बताए।

अहिले प्रेस स्वतन्त्रता कुण्ठित हुन थाल्यो भनेर सरकारलाई औँला ठड्याउँदा भोलि पत्रकारिताप्रतिको विश्वास नगुमोस् भन्दै मन्त्री बाँस्कोटाले पत्रकारिता अझै विश्वासनीय र खोजमूलक बन्नुपर्छ भने ।

उनले पूर्वदृष्टि राखेर समाचार लेख्न नहुने चर्चा गर्दै पत्रकारितालाई भजन, मिसन, पार्टी पत्रकारिताबाट माथि उठाएर ‘समृद्ध नेपाल, सुखी नेपाली’मा जोड्नुपर्ने बताए ।

कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस जगतलाई सङ्कुचन गराउने मिडिया विधेयक सच्याउन महासङ्घको दबाबपछि नै सरकारले समिति बनाएर छलफल गरिरहेकोे बताए।