एजेन्सी । बिग बास लिग (बीबीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्स पराजित भएको छ ।शनिबार भएको खेलमा मेलबर्न ब्रिसबेन हिटसँग ७१ रनले पराजित भएको हो ।मेलबर्नमा ब्रिसबेनले दिएको १ सय ८७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टिम १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १५ रनमा समेटियो ।
मेलबर्नका लागि पिटर ह्यान्ड्सकम्पले २७ रन जोड्दा निक लार्किनले २२ रन बनाए । सन्दीप १ रनमा आउट भए । ब्रिसबेनका मिचेल स्विपसनले ३ विकेट लिए । जेम्स पाटीनसन र मुजिब उर रहमानले २-२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको ब्रिसबेनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । ब्रिसबेनका लागि एबी डी भिलियर्सले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान क्रिस लिनले ३४ रन बनाए । मेलबर्नका लागि एडम जाम्पाले ३ विकेट लिए । सन्दीपले ४ ओभरमा १६ रन खर्चिएर १ विकेट लिए ।
जितसँगै ब्रिसबेन १३ खेलमा १२ अंक जोडेर लिगको पाँचौं स्थानमा उक्लिएको छ । मेलबर्न १४ खेलमा १० जितसहित २० अंक जोडेर शीर्ष स्थानमा छ ।