काठमाडौं : साउदी अरबस्थित नेपाली दूतावासले बिदामा रहेका नेपाली कामदारलाई २ साता आउजाउ नगर्न सुझाव दिएको छ । विश्वव्यापी रूप लिएको कोरोना भाइरसबाट जोगिन साउदीले २ साता हवाई सेवा स्थगन गरेलगत्तै त्यहाँस्थित नेपाली दूतावासले बिदामा रहेका नेपालीलाई यथाअवस्थामै रहन निर्देशन दिएको हो ।
‘आगामी दुई हप्ताका लागि साउदीमा रहनुभएका नेपाली नागरिकहरू घर बिदामा नेपाल जाने तथा घर बिदामा नेपालमा रहेकाहरू नेपालबाट साउदी आउन सक्ने अवस्था नरहेको व्यहोरा अनुरोध छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
दूतावासले पुनः श्रमस्वीकृति सिफारिशसँगै वहिर्गमनसम्बन्धी आवेदन संकलनका कार्यसमेत स्थगन गरेको छ । यो सेवा कार्य नेपाली राजदूतावास रियाद र राजदूतावासका दम्मामस्थित जनसम्पर्क अधिकारीबाट प्रवाह हुँदै आएको थियो ।