काठमाडौँ –संघीय संसद राष्ट्रिय सभामा आएका नयाँ १८ सदस्यहरुका लागि आज समिति तोकिने भएको छ । राष्ट्रिय सभा अन्तर्गत रहेका चारवटा समितिमा कुन सदस्यहरु कहाँ रहने टुङ्गो लाग्न लागेको हो । आज दिउँसो १ बजे बस्न लागेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुको मनोनय प्रस्ताव प्रस्तुत हुँदैछ । राष्ट्रिय सभाक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त प्रस्ताव प्रस्तुत गर्दै छन् ।


ADVERTISEMENT


राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् । राष्ट्रिय सभामा हरेक दुई वर्षमा एक तिहाई सदस्य बाहिरिने र त्यति नै सङ्ख्यामा भित्रिने प्रक्रिया रहेको छ । यसरी भित्रिएका नयाँ सदस्यहरुका लागि समितिमा तोकिन लागेको हो ।


ADVERTISEMENT

# # #


दलहरुको सिफारिशअनुसार सदस्यहरुको समिति तोकिने छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दलहरुले सदस्यको समिति तोकेपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्ने जानकारी दिए । सबै समितिहरुमा बराबर सङ्ख्या तोक्नेभन्दा पनि सदस्यहरुको रुचिअनुसार समिति तोक्ने तयारी भएको पनि उनले जानकारी दिए ।

दलहरुले पनि नयाँ सदस्यहरुको रुचिअनुसार समितिमा पठाउने मनसाय व्यक्त गरेका कारण केही दिन ढीला भएको हो । साना र प्रतिपक्षी दलका सदस्यहरुले कुन समतिमा बस्ने भन्नेमा प्राथमिकता पाउने उनले बताए । समाजवादी र राजपाबाट निर्वाचित सदस्यहरुले रोजेर जुनसुकै समितिमा पनि बस्न पाउने छन् । राजपाका दुईजना सदस्य एउटै समितिमा भने बस्न पाइने छैन । नेपाली काङ्ग्रेसका छजनामध्ये दुई रदुईजना दुईवटा र अन्य दुई समितिमा एक र एकजना बाँडिनुपर्नेछ ।

प्रतिपक्षी दलबाट सबै सदस्यको तय भइसकेपछि नेकपाका सदस्यहरुलाई समिति तोकिनेछ । अघिल्लो बैठकमा नै सदस्यहरुको समिति तय रहने भन्ने भएपनि दलहरुले थप समय मागेका कारण आइतबारसम्म लम्बिएको हो । राष्ट्रिय सभामा ५९ सदस्यहरु रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट राष्ट्रिय सभामा छ जना सदस्य बाँकी रहेका छन् । राष्ट्रिय जनता पार्टीबाट दुईजना र संघीय समाजवादीबाट एकजना सदस्य छन् । बाँकी सबै सदस्य नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट रहेका छन् ।