काठमाडौं – पर्साको ठोरी गाउँपालिका–४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ।
बुधबार बिहान चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको सहायक खोलामा आएको बाढीले एम्बुलेन्स बगाएको हो। ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीका अनुसार माडीस्थित बगही खोलाको पुलबाट पूर्वतर्फ रहेको सानो खोलामा आएको भेलले एम्बुलेन्स बगाएको हो।
एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए। खोलाले एम्बुलेन्स बगाए पनि चालकसहित तीनै जना सकुशल रहेको उपाध्यक्ष रेग्मीले जानकारी दिइन्।
भारी वर्षाका कारण माडी क्षेत्रका खोला तथा नदीमा पानीको बहाव बढेको छ। स्थानीय प्रशासनले समेत खोला तथा नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
















