पाल्पा, फागुन २२ । जिल्लामा परम्परादेखि चलनचल्तीमा हातले कुदेका कलात्मक माटाका भाँडा अहिले लोप हुँदै गएको छ ।


ADVERTISEMENT


माटाकै भाँडा बनाएर राम्रो पहिचान बनाउँदै आएका कुमाल समुदायले निर्माण गर्ने परम्परागत हाँडी, घैँटा, चिलिम, पाला, खुत्रुकेलगायतका भाँडा अहिले पाइन छाडेका छन् । बजारमा आधुनिक प्लाष्टिकका भाँडाको प्रयोग बढ्दै गएकाले घरायसी उपयोगका लागि प्रयोग हुँदै आएका यी माटाका भाँडाको चलन घटदै जाँदा कुमालेको पेसा नै लोप हुन पुगेको हो ।
रामपुर–१५ गेझाका तल्लो र माथिल्लो गाउँ नै कुमाल समुदायले ढाकेको छ । यिनीहरुले विगतमा माटाका भाँडा बनाएर जीविकोपार्जन गरे पनि अहिले सो पेसा नै लोप हुँदै गएको स्थानीय दामोदर तिमिल्सिनाले बताए ।


ADVERTISEMENT

# # #


यहाँका ३०० घरपरिवारमध्ये अहिले दुई/चार घरपरिवारले मात्र माटाको भाँडा बनाउने काम गर्छन् । महेन्द्र कुमालले बजारको अभाव र गाउँमा उत्पादित माटाको भाँडाको सट्टा प्लाष्टिक र स्टिलका भाँडाका प्रयोग बढ्दै जाँदा पेसा नै लोप हुने अवस्थामा पुगेको गुनासो गरे। उनले परम्परा जोगाउनका लागि अझै पनि माटाको भाँडा बनाउँछन् । “हाँडी,  घैँटो, खुत्रुकेलगायतका माटाका भाँडा बनाए पनि बिक्री गर्न बजारको समस्या छ”– कुमालले भने ।

यहाँ उत्पादित एउटा हाँडी, घैँटोको आकार हेरी रु २०० देखि ५०० सम्म मूल्य पर्ने गरेको अर्का व्यावसायी मनबहादुर कुमालले बताए। लागतअनुसारको मूल्य पनि पाइँदैन, हिजोआज माटाको भाँडा कमैले मात्र खरिद गरेको उनले भने ।

जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङधारा, ख्याहालगायतका स्थानमा बसोबास गर्दै आएका कुमाल जातिले माटाको भाँडा बेचेर आफ्नो जीवन निर्वाह गदै आए पनि अहिले लोप हुँदै गएको छ । वर्षौंदेखि गर्दै आएको पेसा सङ्कटमा पर्न थालेपछि कतिपय कुमालले चौकीदारी र मजदुरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् । कुमाल जातिको पेसा संरक्षणका लागि सरकारी तवरबाट कुनै पहल नहुँदा सामग्री उत्पादन भए पनि बजार अभावका कारण उनीहरुको पेसा सङ्कटमा परेको हो । सस्तो र हल्का खालका प्लाष्टिकका भाँडा गाउँगाउँसम्म पुग्न थालेपछि पेसा नै लोप हुँदै गएको कुमाल जाति बताउँछन् ।