काठमाडौं – सरकारले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २० दशमलव ७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
बैठकले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केवर–पथलैया सडक खण्ड, गर्जाङ खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय, गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गरेको छ भने पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले संघीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आभास श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा, र नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डाक्टर जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले बताए । उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ गरिएको नभइ सुरक्षा प्रदान गर्नको लागि सुरक्षित स्थानमा रेस्क्यु गरिएको दावी गरे ।
राणालाई जेनजी समूहबाट नभएर अज्ञात समूहबाट थ्रेट रहेको उहाले बताउनुभयो । प्रवक्ता पोखरेलले वर्तमान सरकारको ६ महिनामा सकारात्मक तरिकाबाट अघि बढेको महसुस भइरहेको बताए ।