काठमाडौँ – नेपाली युवा क्रिकेट स्टार सन्दीप लामिछाने लगातार तेस्रो पटक वेष्टइण्डिजको चर्चित टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने भएका छन् ।
सोमबार भएको आठौँ संस्करणको सीपीएलको ड्राफ्टमा उनलाई जमाइका तल्ह्वाजले अनुबन्ध गरेको हो । सन्दीपलाई किन्न जमाइकाले ९० हजार अमेरिकी डलर (एक करोड भन्दा माथि नेपाली रुपैयाँ) खर्च गरेको छ ।
सन्दीप आवद्ध टिम जमाइकामा वेष्टइण्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल, पाकिस्तानका आसिफ अलि, न्यूजिल्याण्डका ग्लेन फ्लिप्स जस्ता चर्चित खेलाडी रहेका छन् । जमाइकाको कप्तान रोभमेन पावेल हुन् ।
यसअघि सन्दीपले पहिलो पटक सीपीएलमा क्रिस गेलको कप्तानीमा रहेको एसटी किट्स एन्ड नेभिस प्याट्रियट्स, दोस्रो पटकजासन होल्डरको कप्तानीमा रहेको बर्बाडस ट्राइडेन्सबाट पनि खेलिसकेका छन् ।
पहिलो पटक प्याट्रियट्समा ५ लाख ४० हजार डलरमा अनुबन्धित भएका सन्दीप दोस्रो पटक ट्राइडेन्समा ७० हजार डलरमा अनुबन्धित भएका थिए । तेस्रो पटक भने सन्दीपले आफ्नो मूल्य नै ९० हजार अमेरिकी डलर तोकेका थिए । उनलाई सोही मूल्यमा जमाइका तल्ह्वाजले किनेको हो ।