काठमाडौँ – हिमालयन बैंक लिमिटेडले ‘टिच फर नेपाल’लाई पाँच लाख रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ । ग्रामिण क्षेत्रका समुदायिक/सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि स्वयंसेवक शिक्षकहरुको व्यवस्था गर्न बैँकले उक्त सहायता गरेको हो ।
बैँकको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले आइतबार एक कार्यक्रमकाबीच उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
“एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्” भन्ने मुल मन्त्रका साथ अगाडि बढेको ‘टिच फर नेपाल’ले हालसम्म विभिन्न ७ जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकहरुको व्यवस्था गरी ३० हजार भन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाइरहेको छ ।
हिमालयन बैंकले आफ्नो स्थापनाकाल देखि नै अनाथालय, वृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय–समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।