काठमाडौं – व्यवसाय, सामाजिक सेवा र कांग्रेसको संगठनात्मक भूमिकामा आफ्नो छुट्टै पहिचान बनाएका खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका रूपमा नेतृत्वमा पुग्ने आफ्नो दाबी प्रस्तुत गरेका छन् । उनले गण्डकी प्रदेश खुला क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा मनोनयनपत्र दर्ता गराएका हुन् । उक्त क्लस्टरबाट तीन जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
स्याङ्जा क्षेत्र नं. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीति र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनी पार्टीभित्र संगठन निर्माण, आर्थिक व्यवस्थापन र विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका नेता हुन् । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक संविधानसभा सदस्यका उम्मेदवारसमेत बनिसकेका अर्यालले पार्टीको कार्यवाहक कोषाध्यक्षदेखि आर्थिक संयोजकसम्मको जिम्मेवारी सम्हालेका छन् ।
पेशागत रूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका अर्यालले राजनीतिसँगै निजी क्षेत्र र उत्पादनमूलक क्षेत्रमा पनि आफ्नो सक्रियता विस्तार गरेका छन् । भैरहवा मेडिकल कलेज (यूसीएमएस), गण्डकी मेडिकल कलेज पोखरा, नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध मेडिकल कलेज नेपालगञ्ज तथा सञ्जीवनी मेडिकल कलेज दाङलगायतका संस्थामा उनी प्रमुख लगानीकर्ताका रूपमा जोडिएका छन् ।
शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको विद्यालय स्थापना गर्ने अभियानमा रहेका अर्यालले जलविद्युत् तथा अन्य उत्पादनमूलक क्षेत्रमा समेत लगानी विस्तार गरेका छन् । स्याङ्जामा आधुनिक पोल्ट्री फार्म सञ्चालन गरेका उनले जनकपुरमा अत्याधुनिक लेयर्स फार्मसमेत सञ्चालनमा ल्याएका छन् । विभिन्न व्यवसायिक क्षेत्रमा गरिएको लगानीबाट १० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको दाबी गर्दै उनी निजी क्षेत्रका सफल उद्यमी तथा रोजगारदाताका रूपमा स्थापित छन् ।
व्यवसायिक यात्रासँगै सामाजिक क्षेत्रमा पनि अर्यालको सक्रियता छ । ‘खुमा अर्याल फाउन्डेसन’मार्फत स्याङ्जासहित देशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगारी र खेलकुदलाई प्राथमिकतामा राखेर सामाजिक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
लामो समय पार्टी संगठनमा काम गरेको अनुभव, आर्थिक व्यवस्थापनको जिम्मेवारी र निजी क्षेत्रको नेतृत्वदायी भूमिकालाई आधार बनाउँदै अर्यालले अब कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका खोजेका छन् । गण्डकी प्रदेश खुलातर्फ उनको उम्मेदवारीले व्यवसायिक क्षेत्रबाट पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वको बहसलाई समेत थप बल दिएको छ ।
















