बनेपा– काभ्रेपलाञ्चोकमा विद्युत् चुहावटबाट कूल रु ३१ लाख ५७ हजार राजश्व संकलन भएको छ ।


ADVERTISEMENT


आर्थिक वर्ष २०७३÷७४ मा मण्डनदेउपुर, उग्रचण्डीनाला, नमोबुद्ध नगरपालिकालगायत ग्रामीण भेगमा भएको विद्युत् चुहावटबाट सो राजश्व संकलन भएको हो । यस अवधिमा विद्युत् चोरीको आरोपमा ४९ जना पक्राउ परेर राजश्व तिरी थुनामुक्त भएका छन् ।


ADVERTISEMENT

# # #


“कडाइ गरेपछि विद्युत् चुहावट कम हुँ गएको छ”, नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले भने । उनले चुहावट रोक्न सामाजिक चेतनाको विकास हुनुपर्नेमा जोड दिँदै विद्युत् लाइनको अनुमति लिएर पनि मिटर वाइपास गरेर चुहावट हुने गरेको बताए ।

जिल्लामा विद्युत् बक्यौताको कूल रकम रु २० करोड ५४ लाख २५ हजार रहेको छ । सो रकममध्ये सडक बत्तीको मात्रै रु १० करोड ९८ लाख ३७ हजार रहेको छ भने घरमा जडान भएको विद्युत्को बक्यौता रु पाँच करोड ७७ लाख रहेको छ । सडक बत्तीको बक्यौता रकम बनेपा, पनौती, धुलिखेल नगरपालिकालगायतको हो ।

वितरण केन्द्र प्रमुख यादवले सडक बत्तीको रकम उठाउन निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरिएको जानकारी दिँदै कतिपय ग्राहकको विद्युत् लाइन काटेपछि बक्यौता उठेको बताए । उनले उक्त रकम २०४७ सालदेखिकै बक्यौता भएको र केही रकम द्वन्द्वकालको समेत रहेको बताए। उक्त बक्यौता रकम बनेपा, धुलिखेल आसपास क्षेत्रको हो । रासस