काठमाडौं । राजनीति केवल सत्ता र शक्तिको खेल होइन, समाजको सबैभन्दा पछाडि परेको नागरिकलाई मूलधारमा ल्याउने जिम्मेवारी पनि हो ।

यही मान्यतालाई व्यवहारमा उतार्दै राजनीति र जनसेवाको यात्रामा अघि बढिरहेका नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खुला ४५) तर्फका सशक्त उम्मेदवारका रूपमा प्रस्तुत भएका छन् ।

‘मनमा जनता, काँधमा पार्टी र शिरमा देश’ भन्ने भावनालाई राजनीतिक यात्राको आधार बनाउँदै आएका बानियाँको उम्मेदवारीलाई संगठन, सुशासन, विकास र जनसेवासँग जोडेर हेरिएको छ । मकवानपुरको ग्रामीण बस्तीदेखि बागमती प्रदेशको सरकार सञ्चालनसम्म आइपुग्दा उनले विकासलाई नारामा सीमित नराखी नागरिकको दैनिक जीवनसँग जोड्ने प्रयास गरेको देखिन्छ । विशेषगरी गरिब, विपन्न तथा सीमान्तकृत समुदायलाई गाँस, बास, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत अधिकारमा पहुँच पुर्‍याउने विषयलाई उनले राजनीतिक जिम्मेवारीका रूपमा अघि बढाउँदै आएका छन् ।

विकट गाउँदेखि प्रदेशको नेतृत्वसम्म

मकवानपुरका विकट गाउँबस्तीमा सडक, पुल तथा पूर्वाधारको पहुँच विस्तारदेखि शिक्षा र स्वास्थ्य सेवाको उपलब्धतासम्म बानियाँले निरन्तर पहल गर्दै आएको उनको राजनीतिक यात्राका महत्वपूर्ण पक्ष हुन् । २०७० सालको निर्वाचनबाट जनताको अनुमोदन पाएपछि उनको राजनीतिक भूमिका अझ फराकिलो हुँदै गएको देखिन्छ । त्यसपछि २०७४ र २०७९ मा दुईपटक बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका बानियाँले आफ्नो निर्वाचन क्षेत्र मात्र नभई समग्र बागमती प्रदेशको विकासका विषयलाई प्राथमिकतामा राख्दै आएको दाबी गर्दै आएका छन् । सरकारमा रहँदा होस् वा प्रतिपक्षमा, जनतासँगको सम्बन्धलाई निरन्तरता दिने उनको शैलीले उनलाई संगठनभित्र र जनस्तरमा छुट्टै पहिचान दिएको छ ।

विकाससँगै सुशासनलाई प्राथमिकता

बागमती प्रदेश सरकारको नेतृत्व सम्हाल्दा बानियाँले विकास निर्माणसँगै सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेका थिए । प्रदेशमा रहेका हजारौँ साना तथा टुक्रे आयोजनालाई व्यवस्थित गर्दै प्रभावकारी र परिणाममुखी आयोजना अघि बढाउने प्रयास उनको कार्यकालको प्रमुख पक्षका रूपमा प्रस्तुत गरिएको छ । प्रदेशमा रहेका करिब २५ हजार आयोजनालाई घटाएर करिब १३ हजारमा सीमित गर्ने निर्णयमार्फत स्रोतलाई छरपस्ट नभई प्राथमिकताका ठूला विकास आयोजनामा केन्द्रित गर्ने नीति अघि सारिएको थियो । त्यस्तै, प्रदेश सरकारका मन्त्रालय तथा कार्यालयको संरचनालाई समेत चुस्त बनाउने प्रयास भएको थियो । १४ मन्त्रालय र २१० कार्यालयको संरचनालाई क्रमशः ८ मन्त्रालय र १८० कार्यालयमा सीमित गर्ने निर्णय प्रशासनिक खर्च घटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसँग जोडिएको थियो । यसले बानियाँको राजनीतिक दृष्टिकोण केवल विकासका योजना थप्नेभन्दा पनि सरकारको आकार, खर्च र कार्यसम्पादनलाई परिणामसँग जोड्ने रहेको देखाउँछ ।

आफ्नै पारिश्रमिकबाट विपन्नका लागि घर

बानियाँको राजनीतिक शैलीको चर्चा हुने अर्को पक्ष हो—जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधालाई जनताको जीवनसँग जोड्ने प्रयास । आफ्नो कार्यकालमा सचिवालय खर्च कटौती, इन्धन तथा अन्य सुविधामा मितव्ययिता अपनाउने निर्णयसँगै उनले आफ्नो पारिश्रमिकबाट समेत विपन्न नागरिकका लागि आवास निर्माणमा सहयोग गरेका थिए। मकवानपुरको मनहरी, कैलाश र राक्सिराङका तीन विपन्न परिवारका लागि सरकारी मापदण्डअनुसार घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । आवाससँगै जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोगसमेत गरिएको थियो । राजनीतिमा भाषणभन्दा व्यवहार ठूलो हुन्छ भन्ने मान्यता स्थापित गर्ने प्रयासका रूपमा उनका यी कामलाई समर्थकहरूले लिने गरेका छन् ।

‘घरदेखि अध्ययनसम्म’ : गरिब नागरिक केन्द्रमा

सुरक्षित आवासको पहुँचबाट बाहिर रहेका नागरिकका लागि प्रदेशमा १ हजार घर निर्माण गर्ने कार्यक्रम अघि बढाउनु पनि बानियाँको कार्यकालको उल्लेखनीय पहलका रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै, गरिब तथा जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहज होस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रमलाई प्राथमिकता दिइएको थियो । यसको मूल उद्देश्य स्पष्ट थियो—गरिबीका कारण कुनै नागरिक घरविहीन नहोस् र आर्थिक अभावका कारण कुनै प्रतिभाशाली विद्यार्थी शिक्षाबाट वञ्चित नहोस् । यही सोचका कारण बानियाँको राजनीतिक यात्रामा विकाससँगै सामाजिक न्यायको मुद्दा पनि जोडिएको देखिन्छ ।

निजी क्षेत्रसँग सहकार्य, विकास निर्माणमा गति

देशको आर्थिक विकासमा निजी क्षेत्र र निर्माण व्यवसायीको भूमिकालाई महत्वपूर्ण मान्दै आएका बानियाँले प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास गरेका थिए । निर्माण सामग्रीको मूल्यवृद्धि, आयोजना सम्पन्न गर्न देखिएका कानुनी तथा व्यावहारिक जटिलता र समयसीमाका समस्यालाई समाधान गर्न निर्माण व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिसँग समन्वय गर्दै निकासमुखी निर्णय अघि बढाउने प्रयास भएको थियो । उनको दृष्टिकोणमा विकास सरकारको मात्रै जिम्मेवारी होइन, सरकार, निजी क्षेत्र र नागरिकबीचको सहकार्यबाट मात्रै दिगो विकास सम्भव हुन्छ ।

जेन्जी आन्दोलनको मर्मदेखि नयाँ राजनीतिक संस्कारसम्म
पछिल्लो समय युवापुस्ताले उठाएका प्रश्न, सुशासनको माग र राज्य सञ्चालनमा जवाफदेहिताको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने पक्षमा बानियाँले जोड दिँदै आएका छन् । जेन्जी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, जवाफदेहिता र अवसरका सवाललाई आत्मसात् गर्दै राजनीतिक दलले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने उनको धारणा रहँदै आएको छ । त्यसैले उनको राजनीतिक प्राथमिकतामा केवल सत्ता प्राप्ति होइन, सत्ता प्राप्त गरेपछि त्यसलाई कसरी जनताको हितमा प्रयोग गर्ने भन्ने प्रश्न पनि जोडिएको छ ।

अब केन्द्रमा बानियाँको दाबी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला ४५ केन्द्रीय सदस्य पदका लागि बानियाँको उम्मेदवारीलाई बागमती प्रदेश मात्र नभई देशभरका कांग्रेस प्रतिनिधिसँग जोडिएको प्रतिस्पर्धाका रूपमा हेरिएको छ । प्रदेशको संगठनलाई बलियो बनाउनेदेखि सरकार सञ्चालनको अनुभव, विकास निर्माणको प्राथमिकता, वित्तीय अनुशासन र विपन्न नागरिकका पक्षमा गरिएका पहल उनका मुख्य राजनीतिक आधार बनेका छन् । कांग्रेसभित्र नयाँ पुस्ताको आकांक्षा, पुरानो पुस्ताको अनुभव र संगठनलाई परिणाममुखी बनाउने चुनौतीबीच बानियाँले आफूलाई व्यवहारमा काम गरेर देखाएको नेतृत्वका रूपमा प्रस्तुत गरिरहेका छन् ।

उनको राजनीतिक यात्राको मूल सन्देश पनि यही देखिन्छ—
जनताको दुःख बुझ्ने राजनीति, संगठनलाई बलियो बनाउने नेतृत्व र देशको विकासलाई केन्द्रमा राख्ने राजनीतिक संस्कार ।

अब कांग्रेस महाधिवेशनका प्रतिनिधिको हातमा उनको राजनीतिक यात्राको अर्को अध्याय लेखिनेछ । खुला ४५ को प्रतिस्पर्धामा बानियाँले लोकप्रिय र सम्मानजनक मतसहित केन्द्रीय सदस्यमा विजयी भएर कांग्रेसको राष्ट्रिय नेतृत्वमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य राखेका छन् । मकवानपुरको गाउँबस्तीबाट सुरु भएको उनको राजनीतिक यात्रा अब कांग्रेसको केन्द्रीय मञ्चतर्फ उन्मुख छ । मनमा जनता, काँधमा पार्टी र शिरमा देश—यही नारासहित बानियाँको उम्मेदवारी कांग्रेस महाधिवेशनमा निर्णायक परीक्षणको चरणमा प्रवेश गरेको छ ।

पपुलर भाेटका साथ पन्ध्रौं महाधिबेशनमा केन्द्रीय सदस्य निर्वाचित हुने र कांग्रेसकाे राजनीतिमा लामाे दाैडकाे घाेडाका रूपमा रफ्तार बढाउँदै पार्टी, देश र जनताकाे मुहारमा खुसी, समृद्धि ल्याउन ईन्द्रबहादुर बानियाँ अनवरत उचाईकाे गन्तब्य लम्किरहेका छन् अबिराम !