दाङ – तुलसीपुरस्थित टरिगाउँ विमानस्थललाई ७२ सिटे विमान नियमित सञ्चालन गर्न सक्ने गरी स्तरोन्नति गर्ने तयारी अघि बढाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’सहित मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक टोलीले बुधबार विमानस्थलको स्थलगत निरीक्षण गर्दै धावनमार्ग विस्तार तथा पूर्वाधार विकासको सम्भावनाबारे अध्ययन गरेको हो ।

मन्त्री पौडेलले नेपालगन्ज विमानस्थल सञ्चालनमा प्रतिकूलता आए टरिगाउँलाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न सकिने बताए । उनका अनुसार विमानस्थल स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले विमानस्थलको सुरक्षा पहिलो प्राथमिकता हुने भन्दै यसअघि भएका अध्ययनसमेत आधार बनाएर विस्तृत प्राविधिक अध्ययनपछि मात्रै थप काम अघि बढाइने बताए ।

करिब सात दशक पुरानो टरिगाउँ विमानस्थलको धावनमार्ग छोटो भएकाले ठूला जहाज सञ्चालनमा समस्या हुँदै आएको छ । अब एटीआरस्तरका विमान नियमित सञ्चालन गर्न सक्ने गरी विमानस्थलको क्षमता विस्तार गर्ने तयारी गरिएको छ ।