काठमाडौँ – कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले व्यवसाय सञ्चालनको वातावरण मिलाउन सरकारलगायत सरोकारवालाहरुसँग आग्रह गरेको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै महासंघले संघीय तथा स्थानीय सरकारहरुले आवश्यक स्वास्थ्य तथा सुक्षाका मापदण्डहरुमा कडाइ र अनुगमन गरी व्यापार व्यवासाय खोल्न सहजीकरण गर्नुपर्ने बताएको हो । निषेधाज्ञा नै कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको प्रभावकारी उपाय हुन नसकेको भन्दै महासंघले अर्थतन्त्रलाई धराशयी नबनाउन आग्रह गरेको छ ।
कोरोना नियन्त्रणका नाममा निरन्तर निषेधाज्ञा जारी गर्दा व्यवसायीको मनोबल लगातार घट्दै गएको महासंघले जनाएको छ । ‘बन्दाबन्दीको नाममा व्यापार व्यावसाय गर्न रोक लगाए पनि महामारी नियन्त्रणमा आउन सकेको छैन । बन्दाबन्दी कोभिड १९ को नियन्त्रणको प्रभावकारी उपाय हो भन्नेमा शंका देखिन थालेको छ ।’ महासंघले भनेको छ, ‘यसरी महामारी नियन्त्रण नहुने र व्यावसाय पनन सञ्चालन नगर्ने हो भने देशको अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने पक्का छ ।’
यस्तै महासंघले भदौ २५ गतेभित्र कर विवरण तथा कर भुक्तानी गर्नै पर्ने र नतिरेमा जरिवाना लगाउने राष्ट्र बैँकको निर्देशन अव्यवहारिक रहेको जनाएको छ ।