काठमाडौं – बिराट एग्री लिमिटेडले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ ।

यसका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । आईपीओ निष्कासनका लागि आवश्यक संस्थागत परामर्श सेवासहित निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा एनआईसी एशिया क्यापिटल र बिराट एग्रीबीच दुईपक्षीय सम्झौता भएको हो ।

इटहरी–१३, सुनसरीमा कार्यालय रहेको बिराट एग्रीले मोरङ र सुनसरीमा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको जनाएको छ । कम्पनीले इटहरी–१३ स्थित खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको फिस फिड प्लान्ट सञ्चालन गर्दै आएको छ । उक्त प्लान्टबाट विभिन्न प्रकारका तैरिने तथा डुब्ने माछाका दाना उत्पादन तथा बिक्री–वितरण हुँदै आएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रस्तावित आईपीओबाट प्राप्त पूँजी उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्ने योजना बनाएको छ । यसअन्तर्गत पाङ्गास माछा प्रशोधन तथा फिलेटिङ प्लान्ट, दैनिक १० टन क्षमताको फिड प्लान्ट, कोल्ड स्टोरेज तथा प्याकेजिङ पूर्वाधार विकास गर्ने लक्ष्य कम्पनीले लिएको छ । उत्पादनदेखि प्रशोधन, प्याकेजिङ तथा बजारीकरणसम्मको प्रक्रियालाई एकीकृत गर्ने दीर्घकालीन योजनाअनुसार कम्पनीले कृषि तथा मत्स्यपालन क्षेत्रको मूल्य शृङ्खला विस्तार गर्ने जनाएको छ ।

एनआईसी एशिया क्यापिटलले कम्पनीलाई प्राइभेटबाट पब्लिक कम्पनीमा परिणत गर्ने प्रक्रियादेखि साधारण शेयर निष्कासनसम्म आवश्यक संस्थागत परामर्श सेवा उपलब्ध गराउने जनाएको छ ।