काठमाडौँ– भोजपुरमा ७० औँ मुक्ति दिवस सम्पन्न भएको छ ।
२००७ मा प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको कमाण्डमा बिना रक्तपात राणाहरुको जहानीय शासनबाट भोजपुर जिल्लालाई मुक्त गरेको उपलक्ष्यमा प्रत्येक वर्ष मंसिर २४ गते मुक्ति दिवस मनाउने गरिन्छ । यस वर्ष जेयष्ठ नागरिकहरुका साथ मुक्ति दिवस सम्पन्न गरिएको छ ।
नक्सालस्थित द होप हर्मिटेजमा आश्रित अल्जाइमरपीडित जेष्ठ नागरिकहरूलाई न्यानो कपडा र मस्तिष्घातबाट पीडित युवा पवन कार्कीलाई औषधि लगायतका स्वास्थ्य सामग्री प्रदान गरी मुक्ति दिवस मनाइएको हो । रामप्रसाद राईकी छोरी कृष्णकुमारी र बुहारी शिवकुमारीको हातबाट द होप हर्मिटेजकी सञ्चालिका दीपा देवानलाई न्यानो कपडा र औषधि प्रदान गरिएको थियो ।
जननायक राईको गृहजिल्ला भोजपुरमा पनि राई स्मृति पार्क संरक्षण समितिले मुक्ति दिवस मनाएको छ । समितिले साकेला सिलि प्रतियोगिता आयोजना गरि राईलाई सम्झिएकोमा सो अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो । समितिले २० जना ज्येष्ठ नागरिकलाई सम्मानसहित न्यानो लुगा वितरण गरेको थियो ।