काठमाडौं – नेकपा एमालेले आगामी मंसिरको पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको स्थायी कमिटी बैठकले तल्लो तहका भेला तथा अधिवेशन सम्पन्न गरेपछि राष्ट्रियस्तरको कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो।

बैठकपछि पार्टी सचिव महेश बस्नेतले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिने जानकारी दिए। उनका अनुसार भेलामा प्रदेश तथा जिल्ला पदाधिकारीसँगै पालिका अध्यक्ष, उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ।

एमालेले आगामी मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। वडा तथा पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी रहेको बस्नेतले बताए।

स्थायी कमिटी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्नेछ। बिहीबारको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी भएकी थिइन्। सो अवसरमा उनले पार्टीको वरिष्ठ नेताको शपथसमेत लिएकी छन्।