काठमाडौँ – भर्खरै मात्रै निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हालेका अध्यक्ष शेखर गोल्छालाई पहिलो गाँसमै ढुंगा लागेको छ । गोल्छा अध्यक्ष बनेको एक महिना पनि नबित्दै महासंघले भारततर्फको निकासीमा उत्पत्तिको प्रमाणपत्र (सीओ) जारी गर्ने अधिकार गुमाएको छ ।
अब नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले समेत जारी गर्न पाउने भएका छन् । यसअघि भारततर्फको निकासीमा महासंघले मात्रै उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको थियो । तर, मन्त्रिपरिषदले दुई साताअघि ‘उत्पत्तिको प्रमाणपत्र जारी गर्नेसम्बन्धी कार्यविधि २०७७’ पारित गरेसँगै महासंघको एकाधिकार खोसिएको हो ।
नेपालको अन्य मुलुकभन्दा भारततर्फ ठूलो व्यापार रहेकाले महासंघका लागि मुख्य आम्दानीको स्रोत बन्दै आएको थियो । तर, अब सीओको अधिकार अन्य दुई संस्थाले पाएसँगै यसै पनि गिर्दो आर्थिक अवस्थामा रहेको महासंघ थप कमजोर बनेएको भन्दै व्यावसायीहरुले शेखर गोल्छाको नेतृत्वमाथि ठूलो प्रश्न गर्न गर्न थालेका छन् ।
‘महासंघमा सदृढिकरणको भाषण दिएर हिंडिरहेका गोल्छालाई सरकारले कार्यविधि जारी गरेर थप्पड दिएको छ ।’ महासंघका एक अधिकारीले भने, ‘यसले उद्योग वाणिज्य महासंघको अब हैसियत सकियो, महासंघ कमजोर भयो भन्ने कुरा यसले स्थापित गरेको छ ।’
यसअघि पुष्प कुमार जोशी अध्यक्ष हुँदा तेस्रो देशका लागि महासंघले जारी गर्ने सीओको अधिकार नेपाल उद्योग परिसंघलाई दिँदा नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भनेर आवाज उठेको थियो । तर, अहिले सबैभन्दा बढी निर्यात हुने भारतको सीओको अधिकार च्याम्बरले समेत लैजाँदा महासंघको साख जोगाउनका लागि अध्यक्ष गोल्छाले अब के गर्छन् भन्ने चासोको विषय रहेको छ ।
महासंघलाई कसरी फाइदा हुन्थ्यो ?
कुनै पनि नेपाली उत्पादनलाई विदेश निर्यात गर्नुअघि ‘मेड इन नेपाल’ भनेर उत्पतिको प्रमाणपत्र (सीओ) जारी गर्नुपर्छ । त्यो जारी गर्ने अधिकार नेपाल उद्योग वाणिज्य महासंघलाई मात्रै थियो । त्यो जारी गरेवापत महासंघलाई एक हजारको १२ पैसा आउँथ्यो । त्यसले करोडौँ रुपैयाँ महासंघलाई आम्दानी हुन्थ्यो ।
तर, अब त्यो अधिकार भारतबाहेकका मुलुकका लागि सीओ जारी गर्दै आएका परिसंघ र चेम्बरले पनि पाएसँगै आम्दानी पनि विभाजन भएको छ ।