काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रिपरिषद् विस्तार र केही हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार ८ जना मन्त्री र १ जना राज्यमन्त्री थपेका छन् भने एक जना मन्त्री र एक जना राज्यमन्त्रीलाई जिम्मेवारीबाट हटाएका छन् ।
नवनियुक्त मन्त्रीहरुले आज साँझै शितलनिवासमा राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ समेत लिएका छन् । नयाँ मन्त्री हुनेमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतो रहेका छन् । विमला विश्वकर्मा राज्यमन्त्री बनेकी छन् ।
यस्तै प्रधानमन्त्री ओलीले खेलकुद मन्त्री जगत कुमार विश्वकर्मा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मोतिलाल दुगढलाई मन्त्री पदबाट हटाएका छन् ।
प्रतिनिधिसभा विघटनपछि असन्तुष्टि जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । राजीनापछि शिक्षा, पर्यटन तथा नागरिक उड्डयन, कृषि, उर्जा, खानेपानी, श्रम र वनमन्त्रालय खाली थिए ।
जसमध्ये टोपबहादुर रायमाझी-उर्जा, मणि थापा-खानेपानी, प्रभु साह-शहरी विकास, प्रेम आले-वन, गणेश ठगुन्ना-सामान्य प्रशासन, गौरी शंकर चौधरी-श्रम, दावा लामा-युवा तथा खेलकुद, जुली कुमारी महतो-महिला बालबालिका मन्त्री बनेका छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।
यस्तै प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारीसमेत हेरफेर गरेका छन् । स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पर्यटमनन्त्री बनेका छन् भने सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् । यस्तै कानुमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भूमिसुधारमन्त्री पद्मा अर्याललाई कृषि मन्त्री बनाइएको छ ।
शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।