काठमाडौं – चार्डपर्वको उत्सव, व्यापारको महोत्सव भन्ने नारा सहित विराटनगरको जैन भवनमा विराट ट्रेड फेयर २०८३ शुरु भएको छ ।

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले आयोजना गरिएको विराट ट्रेड फेयर २०८३ को एक कार्यक्रम बीच बिहिवार कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले शुभारम्भ गरेका हुन् । विराट व्यापार संघले आयोजना गरेको विराट ट्रेड फेयर २०८३ असोज २२ गते देखि ३० गते सम्म संचालन हुनेछ ।

चार्डपर्वको बेला सिमावर्ती बजार जाने प्रवृत्ति घटाउन र नेपाली उपभोक्ता र विक्रेता बीचको सम्बन्ध वृद्धि गर्न ट्रेड फेयर लगाइएको विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिए । उनले आर्थिक गतिविधिलाई केही मात्रामा भएपनि चलायमान बनाउन तथा चार्डपर्व लक्षित सेवा र वस्तुको विक्री गरिने भएकाले ट्रेड फेयरले स्थानीय व्यापार वृद्धि गर्न सहयोग पुग्ने बताए ।

९ दिन सम्म आयोजना हुने सो विराट ट्रेड फेयरमा खाद्यान्न, लत्ताकपडा, जुत्ता चप्पल, हार्डवेयर, अटोमोबाइल, फर्निचर, गृह उपयोगी सामग्रीका साथै बैक तथा वित्तिय संस्थाको सेवाहरु लगायतका १ सय ३० वटा स्टलहरु राखिएको छ । सो ट्रेड फेयर करिब १ लाख दर्शकहरुले अवलोकन गर्ने र करिब १६ करोड ५० लाख रुपैयाको आर्थिक कारोबार गर्ने अनुमान गरिएको छ ।