काठमाडौं – सरकारले जारी गर्न सिफारिस गरेका तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेका छन्। बिहीबार साँझ करिब ५ बजे अध्यादेशहरू राष्ट्रपति कार्यालयमा पुगेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार सरकारले सिफारिस गरेका अध्यादेश कार्यालयमा प्राप्त भए पनि राष्ट्रपतिसमक्ष पेश गर्न भने बाँकी छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
सरकारले भोटेकोशी बाढीबाट सिर्जित अवस्थालाई समेत ध्यानमा राख्दै विपद्सम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न अध्यादेश ल्याउन लागेको हो। प्रस्तावित व्यवस्थाअनुसार विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने व्यवस्था गर्न लागिएको छ।
हाल प्रचलित कानुनमा १२ वर्षसम्म बेपत्ता भएको व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था छ। त्यस्तै, भूमिसम्बन्धी अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउनेसम्बन्धी व्यवस्था समेटिएको छ।
राष्ट्रपतिले अध्यादेश जारी गरेपछि त्यसमा समेटिएका व्यवस्था कार्यान्वयनमा आउनेछन्।
















