काठमाडौं – नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक क्रिकेट टिम र क्यान—११ बीचको मैत्रीपूर्ण टी—२० क्रिकेट श्रृंखला मंगलबारदेखि पोखरामा सुरु भएको छ ।
नेपाल क्रिकेट संघ तथा गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले बिजयी सुरुवात गरेको छ । भुटानी क्रिकेट टोलीविरुद्धको खेलमा गण्डकी प्रदेशले ८ विकेटको शानदार जित निकालेको हो । पोखरा रंगशाला क्रिकेट खेल मैदानमा भएको खेलमा भुटानले दिएको ९७ रनको लक्ष्य घरेलु टोली गण्डकी प्रदेशले ११ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।
गण्डकीको जितमा ईश्वर क्षेत्रीले अविजित ३४ रनको महत्वपूर्ण पारी खेले । दीपकप्रसाद डुम्रे २६ रनमा अविजित रहे । अर्जुन कुमालले २२ रन बनाए भने सिब्रिन श्रेष्ठले १० रन जोडे । भुटानका लागि सोनाम येशेले १ तथा नामगे थिन्लेले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले बलिङ रोजेको गण्डकी प्रदेशका बलरसामु भुटान १९.३ ओभरमा ९६ रनमै अलआउट भएको थियो । भुटानका सोनाम चोपेलले सर्वाधिक २७ रन बनाए ।
रन्जुङ मिक्यो दोर्जीले २७ रन तथा नामगे थिन्लेले १६ रन बनाए । गण्डकीका बलर सुभाष भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । अपराजित पौडेलले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । विपिन खत्रीले १ तथा सुदीप आर्याल र सिब्रिन श्रेष्ठले समान १ विकेट लिए । भुटानी राष्ट्रिय टोली र गण्डकी बीचको दोस्रो खेल बुधबार तय भएको छ । भुटानी राष्ट्रिय टोलीले चार वटा खेल खेल्ने छ ।