काठमाडौँ – २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भयो । एकीकरणपश्चात् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा निर्वाचन आयोगमा नेकपा नामको पार्टी दर्ता भयो ।


ADVERTISEMENT


दर्तालगत्तै आयोगले पनि ओली–प्रचण्ड नेतृत्वको पार्टीलाई नेकपा नाम राख्न अनुमति दियो । तर प्रचण्ड–ओलीको नेकपा दर्ता हुनुअघि नै ऋषि कट्टेलले सो नाममा पार्टी दर्ता गरिसकेको थिए । नाम मिल्नेगरी आयोगले प्रचण्ड–ओलीको दललाई नेकपा नाम राख्न अनुमति दिएपछि कट्टेल अदालत गए । त्यतिबेलैदेखि शक्तिको दुरुपयोग गरि प्रचण्ड–ओलीले नेकपा नाम लिएको आरोप लाग्दै आएको थियो । तर सर्वोच्च गएपनि कट्टेलले न्याय पाएनन् । दुई वर्षदेखि न्याय माग्दै भौतारिएका कट्टेलले प्रचण्ड–ओलीको सम्बन्ध चिसिएर दल विभाजनको क्रममा पुगेपछि बल्ल सर्वोच्चबाट न्याय पाए । आइतवार सर्वोच्चले तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरण नै खारेज गरिदियो ।


ADVERTISEMENT

# # #


रमाइलो त के भने आयोगमा एमाले दलको नाम रिक्त भएपछि तत्कालीन एमाले नेतृ सन्ध्या तिवारीले पनि सोही नाममा पार्टी दर्ता गरिसकेकी छन् । गत भदौ ३ गते तिवारी नेतृत्वको नेकपा एमाले पार्टी आयोगमा दर्ता भएको छ ।

सर्वोच्चले नेकपा एकीकरण खारेज गरी पूर्व पार्टी ब्युँताउने निर्णय गरेपनि आयोगमा भने नेकपा एमाले र माओवादी केन्द्र नाम खाली छैन । सर्वोच्चको फैसलापछि तिवारी नेतृत्वको नेकपा एमाले र किराँत नेतृत्वको माओवादी केन्द्र के हुन्छ भन्ने बहश हुन थालेको छ ।

आयोगले भने प्रचण्ड नेतृत्वको पूर्वमाओवादी केन्द्र र ओली नेतृत्वको पूर्व एमालेलाई नै ब्युँताउने तयारी गरेको छ । सर्वोच्चको फैसलाको केही घण्टामै फैसला आयोगमा पुगेको र दर्ता भइसकेको आयोगले जानकारी दिएको छ। मंगलवारदेखि उक्त फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाउने तयारी गरिएको आयोगका एक अधिकारीले बताए ।

सर्वोच्चको आदेशअनुसार पूर्वएमाले र माओवादी केन्द्र ब्युँताउन आयोगमा ती नाम खाली हुनुपर्ने भएकाले किराँती र तिवारीको नाममा दर्ता भइसकेको पार्टीको नाम परिवर्तन गर्ने तयारी आयोगको छ ।

आयोगका ती अधिकारीकाअनुसार चारवटै दललाई पत्र पठाउने तयारी गरिएको छ । उनका अनुसार किराँती र तिवारीलाई नाम र चुनाव चिन्ह अन्य पार्टीसँग मिलेकाले परिवर्तन गर्नुपर्ने भन्दै पत्र पठाउने तयारी गरिएको छ । यसैगरी तत्कालीन माओवादी र एमालेलाई दल फेरि दर्ता गर्नुपर्ने भन्दै पत्र पठाउने तयारी गरिएको उनले बताए ।