काठमाडौँ। नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको आठौँ राष्ट्रिय महाधिवेशन चैत्र २७, २८ र २९ गते रुपन्देहीको बुटवलमा सम्पन्न हुने भएको छ । ‘पेशागत दक्षता, अभिवृद्धि र व्यावसायिक मर्यादाको लागि अग्रसर बनौँ, अद्र्धन्यायिक निकायमा रहेका विकृति र विसंगति विरुद्ध सघर्ष गरौँ । लेखापढी व्यवसायी विरुद्ध हुने षडयन्त्रको पर्दाफास गरौँ, सम्पूर्ण लेखापढी व्यवसायीहरु एकजुट होऔँ‘ भन्ने मूल नाराका साथ यसअघि गत वर्षको चैत्र १४, १५ र १६ मा हुने भनिएको आठौँ राष्ट्रिय महाधिवेशन विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण हुन सकेको थिएन । अब अलि सहज भएकोले आठौँ महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय समितिको बैठकले निर्णय गरेको हो ।
एसोसिएसनका केन्द्रीय महासचिव कृष्णप्रसाद दाहाल ‘नवराज‘ द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा महाधिवेशनमा प्रतिनिधि हुन एसोसिएसनको विधान र नियमावलीबमोजिम योग्य व्यक्ति छनौट गरी प्रतिनिधि पठाउन सकिने भनिएको छ । ‘प्रत्येक जिल्ला वा इकाइ समितिहरुबाट विधानको दफा १३ उपदफा (च) बमोजिम हुन आउने संख्या छनौट÷निर्णय गर्दा एसोसिएसनको निर्वाचन नियमावली २०६४ को नियम ७ क कोे देहाय (ख) कोे व्यवस्थालाई अनिवार्यरुपमा पालना गर्नुपर्नेछ‘ पे्रस विज्ञप्तिमा भनिएको छ । यसरी छनौट हुने प्रतिनिधिहरुको वैद्यताको परीक्षण हुनसक्ने व्यहोरा जानकारी गराइन्छ । साथै ‘महाधिवेशन प्रतिनिधि एवं पर्यवेक्षकहरुले एसोसिएसनकोे लोगोसहितको औपचारिक पोशाक (कालो कोट) मा कार्यक्रममा उपस्थित हुनुपर्नेछ‘ भनिएको छ ।
विज्ञप्तिअनुसार नेपाल राज्यभरका २० हजारभन्दा बढी लेखापढी व्यवसायहरुको प्रतिनिधित्वमूलक पेशागत संगठन नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको विधान, २०६३ एवं निर्वाचन नियमावली, २०६४ बमोजिम आगामी चारवर्षे कार्यकालको लागि केन्द्रीय समितिको महाधिवेशन हुन लागेको हो । महाधिवेशनले यस कार्यकालमा भए गरेका कामहरुको समीक्षा र आगामी चारवर्षका निमित्त कार्यक्रम, कार्ययोजना, नीतिसमेत निर्माण गर्नेछ ।
आसन्न महाधिवेशन सम्पन्न गर्न एसोसिएसनको रुपन्देही जिल्लास्थित इकाइ समिति बुटवल, इकाइ समिति भैरहवा, इकाइ समिति यातायात वुटवल र इकाइ समिति मजगवा (मर्चवार) समेत चारवटा इकाइ समितिहरुको संयुक्त सहआयोजनामा सम्पन्न हुने बताइएको छ ।
महाधिवेशन सम्पन्न गर्ने सवालमा काठमाडौँ डिल्लीबजारस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको एघारौँ बैठकबाट गतवर्ष स्थगित भएको आठौँ राष्ट्रिय महाधिवेशन चैत्र २७, २८ र २९ गते निर्धारित स्थानमा नै सम्पन्न गर्ने र महाधिवेशन तयारीका लागि गतवर्ष चैत्र ३ गते गठन भएका निर्वाचन समितिलगायत अन्य सबै समिति, उपसमितिहरु यथावत् राखी जिम्मेवारी दिने निर्णय समेत भएको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार कृष्णप्रसाद ढुंगानाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति, निर्वाचन समितिलाई आवश्यक सहयोग गर्न पाँच सदस्यीय अर्को उपसमिति, अभिवक्ता अर्जुनप्रसाद घिमिरेको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन मसौदा समिति, अधिवक्ता रविन्द्र प्रधानको संयोजकत्वमा चार सदस्यीय घोषणापत्र मसौदा समिति, रमेशप्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय सुझाव संकलन समिति, तीर्थराज गिरीको संयोजकत्वमा नौ सदस्यीय आवास समिति, चिरञ्जीवी बस्नेतको संयोजकत्वमा छ सदस्यीय भोजन समिति, नेपबहादुर वलीको संयोजकत्वमा तीन सदस्यीय हल तथा मञ्च व्यवस्थापन समिति, केन्द्रीय अध्यक्ष सीताराम दाहाल संयोजक रहेको र सदस्यहरुमा निवर्तमान अध्यक्ष तेजप्रसाद ढकाल, पूर्वअध्यक्ष अर्जुनप्रसाद घिमिरे, सल्लाहकार समिति सभापति रामप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष गुरुदेव यादव, उपाध्यक्ष मायादेवी सोती, केन्द्रीय अनुशासन समितिका संयोजक फणिन्द्र पौड्याल, केन्द्रीय पेशागत दक्षता अभिवृद्धि समितिका संयोजक कृष्णप्रसाद ढुंगाना, केन्द्रीय सदस्य लेखनाथ पौडेल, केन्द्रीय सल्लाहकार सदस्य हेमलाल ढकाल रहेको १० सदस्यीय अतिथि निमन्त्रणा, सत्कार तथा व्यवस्थापन मूल समिति, सूर्यबहादुर थापा संयोजक रहेको छ सदस्यीय महाधिवेशन प्रचारप्रसार तथा भित्तेपात्रो क्यालेण्डर प्रकाशन समिति, युवराज कार्की पर्वत संयोजक रहेको तीन सदस्यीय स्वयंसेवक परिचालन समिति, पुरुषोत्तम अधिकारी संयोजक रहेको आठ सदस्यीय प्रतिनिधि दर्ता तथा परियचपत्र वितरण समिति, मायादेवी सोती संयोजक रहेको दुई सदस्यीय प्राथमिक उपचार समिति, रमेशप्रसाद पोखरेल संयोजक रहेको चार सदस्यीय सुरक्षा समिति, हरिप्रसाद पौडेल संयोजक रहेको १० सदस्यीय आर्थिक व्यवस्थापन समिति, लक्ष्मी बानियाँ संयोजक रहेको चार सदस्यीय सामग्री बिक्रीवितरण समिति निर्माण भएको छ ।
यसैगरी ध्वजकुमार राउत संयोजक रहेको चार सदस्यीय झोला वितरण समिति, सरोज घिमिरे संयोजक रहेको उद्घाटन सत्र तथा बन्द सत्रका माइन्युटमा उपस्थिति हस्ताक्षर गराउने, आत्माराम मोक्तान संयोजक रहेको उद्घाटन सत्र तथा बन्द सत्रको माइन्युट लेख्ने, तयार गर्ने दुई सदस्यीय समिति, महासचिव कृष्णप्रसाद दाहाल ‘नवराज‘ संयोजक रहेको पाँच सदस्यीय सम्मानपत्रलगायतका सामग्री व्यवस्थापन समिति, सूर्यबहादुर थापा संयोजक रहेको ६ सदस्यीय यातायात व्यवस्था समिति रहेका छन् ।
महासचिव दाहालका अनुसार आसन्न महाधिवेशनले घोषणापत्र पास गर्ने, बन्दसत्रले नीति तथा कार्यक्रम एवं आर्थिक प्रतिवेदन पास गर्नेछ । साथै ३३ सदस्य केन्द्रीय समितिको निर्वाचनसमेत महाधिवेशनमा हुने बताइएको छ । साथै प्रत्येक प्रदेशबाट एकएकजनाको दरले देशभरका सातवटा जिल्ला वा इकाइ (प्रदेशस्तरमा उत्कृष्ठ भएका) लाई पुरस्कृत र महाधिवेशन सहआयोजकलाई कदरपत्र प्रदान गरिनेछ । महाधिवेशनमा देशैभरिबाट हजारको संख्यामा प्रतिनिधि, पर्यवेक्षक एवं अन्य गरी दुईहजारको सहभागिता रहने र ११ सय जनाले बन्दसत्रमा भाग लिनेसमेत महासचिव दाहालले बताए ।