काठमाडौं – नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ ।
गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलहरूको पुनर्निर्माण गर्ने क्रममा नेपाली सेनाले उक्त पुल निर्माण गरेको हो। पुल निर्माणका लागि करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाएर पहुँच मार्ग तयार गरिएको थियो। नेपाली सेनाले असोज २० गतेदेखि सुरु गरेको एक्रो ब्रिज जडान कार्य असोज २४ गते सम्पन्न गरेको थियो। ४० टन भार बहन क्षमता रहेको उक्त पुल २४० फिट (७३.२ मिटर) लामो र १८ फिट (५.५ मिटर) चौडा रहेको जानाइएको छ ।
पुल सञ्चालनमा आएसँगै नुवाकोट तथा रसुवाका आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। सेनाले एक्रो ब्रिज लगायत देशै भर गरेर ५१ वटा पुलहरु निर्माण गरेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।
यस पुल निर्माणले रसुवालाइ राष्ट्रिय राजमार्गमा जोड्ने काम भएको जनजिवन सामान्य बन्दै गएको उत्तरगया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालले बताए । उनले विपद् भोगेका पिडितहरुलाइ समान्य जिवन तर्फ फर्काउने काम संद्ध, प्रदेश र स्थानिय सरकारले गरिरहेकको बताए ।
खोलामा पुल निर्माण भएसंगै स्थानियले खुसी ब्यक्त गर्दै यसले जनजिवनलाइ समान्य बन्दै जाने बताएकाछन । बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणसँगै उक्त पुलले प्रभावित क्षेत्रको यातायात सम्पर्क पुनःस्थापना गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



























