काठमाडौँ –कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका नेपाल टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफर ल्याउनले बतएको छ ।
आइतबार यस सम्बन्धी सम्झौतामा नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद/नेपाल नर्सिंंग परिषद/नेपाल फर्मासिष्ट परिषद/नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर सम्पन्न भएको छ ।
यस अफर अन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेको आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड/प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने टेलिकमले जनाएको छ । यस्तै स्वास्थ्यकर्मीहरुले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गरिनेछ । पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागु हुने रेन्टल चार्ज कायमै रहने टेलिकमले जनाइको छ ।
स्वास्थ्यकर्मीहरुको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषदहरु (नेपाल चिकित्सक परिषद, नेपाल नर्सिंंग परिषद, नेपाल फर्मासिष्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषद) ले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराए पश्चात यो अफर उपलब्ध गराइने छ ।
स्वास्थ्यकर्मीहरुको आफ्नै नाममा रहेको सिम कार्डमा मात्र उल्लिखित अफर उपलब्ध हुने भएकाले आफ्नो नाममा कम्पनीको सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले नयाँ सिमकार्ड लिनका लागि सम्बन्धित परिषदको आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनु पर्नेछ । स्वास्थ्यकर्मीको सम्बन्धित परिषदको परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमानुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम लिएर पनि यो अफर उपयोग गर्न सकिनेछ । यसरी प्राप्त गरिने नयाँ सिममा उल्लिखित धन्यवाद स्वास्थ्यकर्मी अफर समावेश गरिने टेलिकमले जनाएको छ ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिने यो अफरको समयावधि कोरोना महामारीको अवस्था हेरी थप गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जनाएका छन् ।