काठमाडौँ– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएकी छन् ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतबार साँझ आयोजना गरेको ‘नेपालमा कोरोनाको सङ्कट, रोकथामका उपाय र जीवनरक्षाका लागि हाम्रो जिम्मेवारी के हो?’ विषयक भर्चुअल अन्तरक्रिया उनले कोरोना नियन्त्रणका लागि सरकारले खोप खरीदलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।
कार्यक्रममा बोल्दै उनले भनिन्, ‘अनुदानमा ल्याएरमात्र कोरोना खोप सबै जनतासामु पुग्न सक्दैन सरकारले कोरोना भ्याक्सिन खरीदलाई प्राथमिकता दिनुपर्छ ।’ फाउण्डेशनकी केन्द्रीय अध्यक्षसमेत रहेकी कोइरालाले कोरोना महामारीका कारण दैनिक लाखौँ श्रमिक रोजगारविहीन भएको उल्लेख गर्दै यस्ता जनतालाई सरकारले राहतको व्यवस्था गर्नुपर्नेमा समेत जोड दिइन् । यस्तै, उनले सबै मिलेर कोरोना सङ्क्रमण नियन्त्रणमा लाग्नुपर्ने समेत उल्लेख गरिन् ।
फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले फाउण्डेशनले समसाययिक घटनाक्रमका बारेमा निरन्तर बहस गर्दै आइरहेको बताएका छन् । गत वर्षको कोरोना सङ्क्रमणपछि फाउण्डेशनले हालसम्म विभिन्न विषयमा ३७औँ पटक बहस गरिसकेको अध्यक्ष घिमिरेको भनाइ छ ।
फाउण्डेशन अमेरिका शाखाका प्रवक्ता रामचन्द्र अधिकारीले भने, कोरोनाबाट पिडित व्यक्तिलाई अमेरिका शाखाले शुरुआती दिनदेखि नै सहयोग गर्दै आएको दाबी गरेका छन् । हालसम्म अमेरिका शाखाले ५५ हजार प्याकेट खाना, दूध, माक्स र स्यानिटाइजर सहयोग गरेको उनले जनाए ।
कार्यक्रममा फाउण्डेशन अमेरिका शाखाका उपाध्यक्ष सुवर्ण लामा, फाउण्डेशन युवा तथा खेलकूद विभागका संयोजक गुणराज प्याकुरेल, फाउण्डेशनका केन्द्रीय सदस्य एलिजा गुरुङ, कान्तिपुर मिडिया गुप्रका पत्रकार सञ्जु पौडेलगायतले कोरोना खोप पर्याप्त मात्रामा जनतामाझ पुर्यनउन सकेमात्र महामारी रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । रासस