काठमाडौँ – काठमाडौँ उपत्यकाको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । आइतवार बसेको काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले गरेको निर्णयअनुसार निषेधाज्ञालाई आजदेखि खुकुलो पारिएको हो ।


ADVERTISEMENT


यसअघि बिहाना ९ बजेसम्म खाद्यान्न, तरकारी, दूध डेरी, मासु, खानेपानी, ग्यास, किराना र डिपार्टमेन्ट स्टोर लगायतका क्षेत्र खोल्न दिने गरिएकोमा उक्त समयावधि बिहाना ११ बजेसम्म पुगाइएको छ । यसैगरी असार १ गतेदेखि शैक्षिक सत्र शुरु हुने भएकाले पुस्तक पसल पनि खोल्न दिइएको छ ।


ADVERTISEMENT

# # #


विकास निर्माणका कामलाई सहजीकरण गर्र्दै साँझ ४ बजेपछि छड, सिमेन्ट, बिजुली र हार्डवेयरका पसल पनि खोल्न दिने निर्णय गरिएको छ । यसका साथै रोपाइँको समय शुरु भएका कारण कृषिसँग सम्बन्धित सामाग्री, मल, बिउँबीजन ढुवानी गर्न दिने निर्णय गरिएको छ ।

गत बैसाख १६ गतेदेखि काठमाडौँ उपत्यकाबाट शुरु भएको निषेधाज्ञा हाल ७५ जिल्लामा पुगेको छ । पछिल्लोपटक उपत्यकामा निषेधाज्ञा सोमवार रातिदेखि सकिएको छ ।

वैदेशिक अध्ययन तथा ईडीभीको प्रक्रिया अघि बढाउने र विमानस्थलसम्म सवारी सहजीकरण गर्ने, कुटनीतिक नियोगले लिने परीक्षा भौतिक दूरी कायम गरि परीक्षा लिन दिने निर्णय गरिएको छ ।

कोरोनाको संक्रमण घट्दै गएको निश्कर्षसहित बैठकले एक साताको अवस्था हेरेर त्यसपछि क्रमशः निषेधाज्ञा खुकुलो बनाउँदै जाने तयारी गरेको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले बताए । ‘एक साताको तथ्यांक हेरेर यसैक्रममा संक्रमण घट्दै गएमा त्यसअनुसार निषेधाज्ञा खुकुलो पार्दै जाने छलफल भएको छ,’ उनले बताए । संक्रमण घटेमा आगामी सातादेखि यातायातबाहेकका क्षेत्र खोल्ने तयारी सीडीओहरुको रहेको छ ।