काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार राष्ट्रिपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ प्रधानमन्त्री देउवालाई खुवाएकी हुन् ।
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार राष्ट्रिपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । साँझ ६ बजे शपथ हुने भनिए पनि आफ्नो नियुक्ति पत्रमा संविधानको धारा उल्लेख नगरिएको भन्दै देउवाले शपथ लिन मानेका थिएनन् ।
राष्ट्रपति कार्यालयले नियुक्ति पत्र सच्याउँदै ‘सर्वोच्चको परमादेश बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको’ उल्लेख गरेपछि देउवाले सपथ लिएका हुन् । प्रधानमन्त्री देउवासँगै चार मन्त्रीले पनि आजै सपथ लिएका छन् ।
सपथ ग्रहण समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।