काठमाडौँ– निर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ ।


ADVERTISEMENT


आयोगले अपरान्ह २ बजेसम्मका लागि दिएको समयभित्रै पुगेर नेताहरुले सनाखत गरेका हुन् ।


ADVERTISEMENT

# # #


नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टी (जसपा) का ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो ।

यस्तै राष्ट्रियसभाका तीन र प्रतिनिसिभाका ३४ गरी ३७ सांसदमध्ये १५ जना अर्थात करिब ३७ प्रतिशतले सनाखत गरेको जनाइएको छ । उक्त पार्टीका दुई सांसद भने हाल निलम्बित छन् ।

प्रस्तावित पार्टीको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतोलाई प्रस्ताव गरिएको छ । पार्टीमा ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने गरी नामावली बुझाइएको छ । पार्टीको चुनाव चिन्ह भने साइकल प्रस्ताव गरिएको छ ।

सनाखतपछि पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा ठाकुरले कानूनी मान्यताका लागि सनाखत गर्न आयोगले बोलाएको समयमै उपस्थिति भएर सनाखत गरेको जानकारी दिए । दर्तापछि नयाँ पार्टीलाई सशक्त लोकतान्त्रिक शक्तिको रुपमा अघि बढाउने उनले जनाए ।

सरकारले हालै ल्याएको अध्यादेशमा दल विभाजन हुन केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे हुने प्रावधान रहेको छ । रासस