नयाँ दिल्ली– अफगानस्तानबाट उद्धार गरी ल्याइएका ११ नेपालीसहित ३५ जना व्यक्तिहरु १४ दिने क्वारेन्टाइन बसाईपछि आज बाहिरिएका छन् ।
अफगानस्तानबाट उद्धार गरिएका ११ नेपाली र २४ जना भारतीयको समूहलाई नयाँ दिल्लीस्थित भारत–तिब्बत सीमा पुलिस(आईटिबीपी) केन्द्र छावला क्याम्पको १४ दिनको पूर्ण क्वारेन्टाइन बसाईपछि उनीहरुलाई आफ्नो स्थानमा फर्काइएको हो ।
उक्त टोलीसंगै आईटिबीपीमा रहेर सेवा उपभोग गरिरहेका अन्य १ सय १३ जनालाई समेत केन्द्रले बिदाई गरेको छ ।
यसअघि यस केन्द्रले गत ७ सेप्टेम्बरमा अफगानस्तानबाट उद्धार गरिएका ५३ जना अफगानस्तानीसहित कुल ७८ जनालाई पनि सम्पूर्ण सेवा सुविधासहित बिदाई गरेको थियो । उक्त क्वारेन्टाइनको बसाईमा केन्द्रमा रहेका सबैको पिसिआर परीक्षण गरिएको र तीमध्ये सबैजनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, अफगानस्तानबाट उद्धार गरिएकालाई दिल्लीको आइजीआई एयरपोर्टबाट गत २६ अगस्टमा सिधै आईटिबीपी क्वारेन्टाइन पुर्याइएको थियो भने ती सबैलाई निःशुल्क सेवा प्रदान गरिएको हो ।
यस्तै, उनीहरुलाई खाना तथा आवासका साथसाथै उनीहरुलाई आन्तरिक खेल, मनोरञ्जन, वाईफाई तथा क्यान्टिनको व्यवस्थासंगै योगा तथा तनाव कम गर्ने काउन्सिल समेत प्रदान गरिएको केन्द्रको दाबी छ ।
आईटिबीपी क्वारेन्टाइन छावला केन्द्रलाई भारतमा सरकारी तहभन्दा अघि हजार बेड संख्यासहितको क्वारेन्टाइन विस्तार गर्ने पहिलो केन्द्र मानिन्छ । जसले कोभिड–१९ को पहिलो लहरको समयमा सन् २०२० को जनवरीदेखि मे महिनासम्ममा विश्वका विभिन्न स्थान बंगलादेश, म्यानमार, माल्दिभ्स, अमेरिका, साउथ अफ्रिका तथा मेडागास्कर लगायतका देश अझ विशेषगरी वुहान, चीन, मिलन तथा इटालीबाट उद्धार गरिएका प्रमुख ८ राष्ट्रका नागरिकसहित १२ सय भन्दा बढि व्यक्तिहरुलाई क्वारेन्टाइनको सुविधा प्रदान गरेको थियो ।