काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत ओमानमा अमेरिकासँगको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।
ओमानको अल अमेरत क्रिकेट स्टेडियममा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले बलिङको निम्तो पाएको हो । नेपाल र अमेरिकाबीचको खेल अपरान्ह ४ः१५ बजे सुरु हुँदैछ । नेपालले अमेरिकाविरुद्ध यसअघि पपुवा न्यूगिनीविरुद्धकै टिमलाई निरन्तरता दिएको छ ।
नेपालले अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । अमेरिकाले पनि नेपालसँग खेल्नुअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । अमेरिकाले दुवै खेल जितेको थियो ।
यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गरेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ ।
७ वटै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौँ स्थानमा छ । ओमान १६ अङ्क जोडेर शीर्ष स्थानमा छ । १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । स्कटल्यान्ड ९ अंकका साथ तेस्रो, नामिबिया ८ अंकसहित चौथो, युएई ७ अंक जोड्दै पाँचौँ तथा पपुवा न्युगिनी अंकविहीन रहँदै पुछारमा छ ।