काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उर्वर क्षेत्र रहेको बताएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री दाहालले भृकुटीमण्डपमा आयोजित छैटौँ अन्तराष्ट्रिय व्यापार मेलाको आज उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको बताए ।


ADVERTISEMENT

# # #


नेपालमा लगानी गर्न कुनै दुविधा नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई उनले आग्रह गरे। सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आगामी चैत ७ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा उपस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आश्वस्त पार्दै प्रधानमन्त्री दाहालले लगानी गर्न उचित वातावरण तयार पार्ने बताए ।

काठमाडौँको चोभारमा अन्तर्राष्ट्रिय प्रकृतिको मेला÷महोत्सव आयोजनाका लागि एक अत्याधुनिक भवन निर्माण गर्न आज बस्ने मन्त्री परिषद्को बैठकले नीतिगत निर्णय गर्ने उनले बताए। राजनीतिक मुद्दा क्रमशः कार्यान्वयनको दिशामा उन्मुख भएकाले दिगो आर्थिक विकास हासिल गर्न निजी क्षेत्रसँग दृढतापूर्वक काम गर्न सरकार कटिवद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

सात दिनसम्म आयोजना हुने सो महोत्सवमा चीन, भारत, पाकिस्तान, बङ्गलादेश, थाइल्याण्ड र भुटानको सहभागिता रहेको छ । महोत्सवमा ३०४ कक्ष समावेश छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले व्यापार मेला क्रेता, विक्रेता र सिर्जनाकारको जमघटथलो बन्ने विश्वास व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष भवानी राणाले सुरक्षासहितको लगानी मैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरीन् ।

कार्यक्रममा चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानका लगानीकर्ता, उद्योगी एवम् व्यापारी, विभिन्न देशका राजदूत, एवम् सरकारका उच्च पदस्थ व्यक्तिको सहभागिता थियो । महोत्सवमा खाद्यान्न तथा लत्ताकपडा, जडीबुटी, हस्तकला एवम् हिमाली क्षेत्रका उत्पादनको कक्ष समावेश छन् ।