काठमाडौँ – यातायात व्यवसायीहरुले एक महिनापछि राइड सेयरिङको नियम लागू हुने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर संघ/संगठन र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सोमबार काठमाडौंमा भएको छलफलका क्रममा यातायात व्यवसायीहरुले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नुको सट्टा एक महिनापछि राइड सेयरिङको नियम लागू हुने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।
छलफल कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गण्डकीका मुख्यमन्त्रीको अभिव्यक्तिले सार्वजनिक यातायात क्षेत्रलाई पुन आन्दोलन गर्ने अवस्था सिर्जना गर्न खोजेको बताए । उनले हालै सरकार र यातायात व्यवसायीबीच भएको सहमति कार्यान्वयतर्फ ध्यान दिन सुझाव दिए ।
सिटौलाले रोजगारीका नाममा राइड सेयरिङलाई प्रश्रय दिएर लाखौको संख्याका मजदुरलाई समस्या पर्ने काम गर्न नहुने उल्लेख गरे । उनले राइड सेयरिङका नाममा उपत्यकालाई अस्तव्यस्त बनाइएको आरोप लगाए ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राज्यको कानुन अनुसार ट्राफिक प्रहरीले काम गर्ने बताए । उनले प्राविधिक तवरले सडक व्यवस्थापनमा ध्यान दिने, ट्राफिक प्रहरीको कामकारवाहीलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाए । अधिकारीले सार्वजनिक यातायात व्यवसायीहरुले पनि आफ्नो सेवालाई जनमैत्री र विश्वसनिय बनाउनसक्नुपर्ने बताए ।
उनले २० वर्ष पुराना सार्वजनिक सवारी साधानको व्यवस्थापनका विषयमा कानूनअनुसार अघि बढ्ने स्पष्ट पारे ।



























































