काठमाडौं– साधारणसभा गर्ने पहिलो बैंक माछापुच्छ्रे बैंक बन्ने भएको छ। राष्ट्र बैंकले वार्षिक प्रतिवेदन स्वीकृत गरेपछि बैंकले आगामी कात्तिक २६ गते साधारणसभा गर्ने टुंगो गरेको हो ।
माछापुच्छ्रे बैंकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाँदैछ। बैंकले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव यसअघि गरिसकेको छ।
साधारणसभापछि सेयरधनीले १३.३०% बोनस सेयर र ०.७०% लाभांश पाउने छन्। बैंकको साधारणसभाले सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुको बैठक भत्ता वृद्धिको निर्णय गर्ने।
बैंकले अध्यक्षलाई २० हजार र सदस्यलाई १७ हजार बैठक भत्ता दिने प्रस्ताव गरेको छ। यसबाहेक पत्रपत्रिका र मोबाइल इन्टरनेट खर्चका लागि मासिक १५ हजार दिने प्रस्ताव पनि गरेको छ। सञ्चालकहरुलाई औषधि उपचारबापत एक लाख २५ हजारसम्मको बीमा सुविधा उपलब्ध गराउने प्रस्ताव पनि लैजाँदैछ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको जानकारी दिएको छ। बैंकका अनुसार हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचित छ ।
माछापुच्छ्रे बैंकले सातै प्रदेशमा आफ्ना एक सय ६२ वटा शाखाहरु र एक सय ७५ शाखारहित बैंकिङ सेवा, सात एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा तीन सय ४४ स्थानबाट सेवा दिइरहेको जनाएको छ। बैंकका देशभर दुई सय ३ वटा एटीएम सञ्चालनमा छन् ।