काठमाडौँ – लोमो अन्तरसंघर्षपछि अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको ८८ दिनपछि मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन् ।
सत्ता गठबन्धनको बैठकपछि प्रधानमन्त्री देउवाले कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम टुंग्याएका हुन् । कांग्रेसबाट थप ४ जना नयाँ मन्त्री बन्दैछन् । स्रोतका अनुसार रक्षामन्त्रीमा मीनेन्द्र रिजाल, कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा दिलेन्द्रप्रसाद बडू नियुक्त भएका छन् ।
यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा उमा रेग्मी र खानेपानीमन्त्रीमा उमाकान्त चौधरीलाई पठाउन लागिएको बताइएको हो । यस्तै कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरेर सञ्चारमन्त्री बनाउने कांग्रेसको तयारी छ। उनी यस अघि पनि सरकारको प्रवक्ताका रुपमा काम गरिरहेका थिए । यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई राज्यमन्त्रीबाट हटाइएको छ । उनलाई प्रधानमन्त्री कार्यालयमा रहने गरी पठाइएको बताइएको छ ।
नयाँ नियुक्त मन्त्रीहरुको शपथ आजै अपरान्ह ४ बजे गराउने तयारी भएको छ ।